Logo
Logo

उपत्यकामा एकैदिन ५४ जनालाई संक्रमण, व्यापक परीक्षणको तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ असार ।
काठमाडौं उपत्यकामा सोमबार एकै दिन ५४ जना संक्रमितको पहिचान भएको छ । यसबाट संक्रमण व्यापक फैलिएका आशंका गरिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुर जिल्लामा १० जना संक्रमित भेटिएको जानकारी दिए।
यी संक्रमित कुन कुन ठाउँका हुन् भन्नेबारे भने मन्त्रालयले खुलाएको छैन। उनीहरुमध्ये धेरै जसो उपत्यका बाहिरबाट आएका तथा केही विदेशबाट आएका हुन् । काठमाडौं उपत्यकाको समुदायमै संक्रमण फैलिएरनफैलिएको भन्ने सम्वन्धमा मन्त्रालयले विभिन्न १० ठाउँबाट नमूना स्वाब संकलन गरी परीक्षण थालेको छ।

यी १० ठाउँमध्ये पहिलो चरणमा तीनकुने र नख्खुटोलका २२८ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको थियो। परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको गौतमले बताए।

अन्य विभिन्न ठाउँबाट पनि स्वाब लिने र परीक्षण गर्ने क्रम चलिरहेको उनले बताए। ‘अन्य ठाउँको पनि परीक्षण रिपोर्ट आउने क्रम जारी छ’ उनले भने।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विज्ञहरूले समेत संक्रमण समुदायमा फैलिएको हुनसक्ने चेतावनी दिँदै आएका छन्।
मन्त्रालयले पनि उपत्यकामा संक्रमण जोखिम बढेको भन्दै परीक्षणको दायरा फराकिलो बनाउने जनाएको हो। अहिले पनि उपत्यकामा मात्र ११७ भन्दा बढी कोरोनाको ’एक्टिभ केस’ रहेको रोग नियन्त्रण महाशाखाकाले जनाएको छ।
उनीहरूको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। संक्रमितमध्ये अधिकांश विदेशबाट आएका छन् भने १२ जना भन्दा बढी ’ट्राभल हिस्ट्री’ नभएका व्यक्ति छन्। जोखिम बढेपछि परीक्षण बढ्न सकेको छैन । ९५ प्रतिशतलाई नेपालमा लक्षण नदेखिएकाले जोखिम बढेको हो ।

प्रतिक्रिया दिनुहोस्