Logo
Logo

चीनका लागि नेपालका राजदूत पाण्डेसँग चेम्बर पदाधिकारीको भेटघाट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । चीनका लागि नवनियुक्त नेपालका महामहिम राजदूत महेन्द्रबहादुर पाण्डेसँग नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीसंग भेटघाट भएको छ । उक्त अवसरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले तातोपानी र रसुवागढी नाकाका प्रक्रियात्मक जटिलता सरलीकरण तथा सहजीकरण गर्ने, आयात तथा निर्यातका लागि निर्वाधरुपले दुवै नाका संचालन गरिनुपर्ने बताउनुभयो ।

चीनले ८००० भन्दा बढी नेपाली उत्पादनहरुका मालवस्तुको आयातमा शुन्य भन्सार महशुल दरमा प्रवेश सुविधा प्रदान गरेको र यस सुविधा प्राप्त गर्न ४० प्रतिशत मूल्य अभिवृद्धि पूरा भएको हुनुपर्ने प्रावधान रहेको छ । सो प्रावधान पूरा गर्न कतिपय मालवस्तुहरुमा कठिन भएकोले सो घटाउन पनि पहल गरिनुपर्ने बताउनुभयो ।

उक्त अवसरमा अध्यक्ष श्रेष्ठले चीनको बजारमा कृषि तथा लाइभस्टकका वस्तुहरु निर्यातको प्रचुर सम्भावना भएकाले ती वस्तुहरु चिनियाँ बजारमा सहज तथा सरल तवरले प्रवेशको लागि पहल गरिदिन अनुरोध गर्नुभयो । यसका लागि क्वारान्टाइनको प्रक्रियालाई सहजीकरण गर्न प्रयास गरिनुपर्ने बताउनुभयो ।

नेपालको पर्यटन विस्तारमा चिनियाँ पर्यटकको ठूलो योगदान रहेको हुँदा कोभिडपश्चात चीनका पर्यटकहरुलाई नेपाल आगमनको लागि प्रवद्र्धन गरिनुपर्ने तथा हवाईभाडा प्रतिस्पर्धि बनाउनुपर्ने बताउनुभयो । सो अवसरमा नेपाल–चीन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले चीनबाट धार्मिक तथा संस्कृतिक पर्यटक प्रवर्धन गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा नवनियुक्त राजदूत पाण्डेले चेम्बरबाट प्राप्त सुझावहरु गम्भीरतापूर्वक मनन गरी आप्mनो तर्फबाट सहजीकरण गर्न सक्दो प्रयास गर्ने बताउनुभयो । सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष, राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश अग्रवाल तथा नेपाल चीन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरलगायत अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्