काठमाडौ. । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले बरामद भएको २५ करोड बराबरको अवैध विदेशी मुद्राको मुख्य दोषिसम्म पुग्नेगरि अनुसन्धान गर्न माग गरेका छन् । ‘त्यो २५ करोड कसको हो ?’ भन्दै उनले अनुसन्धान उक्त पैसाको मालिकसम्म पुग्न सरकारलाई आग्रह गरेका हुन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले ‘सरकारले केही गर्न सक्दैन’ भन्ने गलत भाष्य चिर्न उक्त घटनाका मुख्य दोषी पत्ता लगाइ तस्करी र भ्रष्टाचारी तह लगाउन सरकार तयार छ भन्ने सन्देश दिनुपर्ने बताए ।
‘नेपाल सरकारले हिजो अवैधरुपमा सिन्धुपाल्चोकका कुसान लामा ड्राइभरले हाँकेको एउटा ट्रकबाट २५ करोड नेपाली रुपैयाँ बराबरको युरो र डलर समात्न सफल भएकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु’ उनले भने, ‘कहिले सुन तस्करीका रुपमा त कहिले डलर तस्करीका रुपमा प्रयोग हुने ड्राइभर र भरियाहरूलाई समाउने । जो धनी छ उनीहरू कहाँ नपुग्ने । यो प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग गर्दछु ।’
उनले कहिले १८ किलो सुन, कहिले ३३ किलो सुनका नाममा यसैगरी विभिन्न भरिया र ड्राइभरलाई पक्रिने र मालिकसँग नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको बताउँदै भने, ‘अहिले पनि सरकार त्यसैगरी गहिरो अनुसन्धानसम्म नपुगेर यिनै ड्राइभर र भरियालाई समातेर मुख्य व्यक्तिलाई समात्न नसके फेरि आँखामा छारो हालजस्तो देखिन पुग्छ । यसैले सरकार यस्ता तस्करीका नाइकेहरूसँग पुगोस् जुन तहको भएपनि कारवाहीको दायरामा ल्याओस् ।’
त्यस्तै, सांसद रोशन कार्कीले टोखामा ठूलो मात्रामा अवैध विदेशी मुद्रा बरामद भएको भन्दै नेपाल तस्करहरूको ट्रान्जीट प्वाइन्ट बनेको हो ? भन्दै प्रश्न गरिन् । उनले भ्रष्टाचारमा नेपालले नयाँ नयाँ कीर्तिमान कायम गरेको बताउँदै जनताको सहनशिलतामा धेरै परीक्षा लिइराखे सरकारलाई अप्ठेरो पर्ने चेतावनीसमेत दिइन् ।
मंगलबार प्रहरीले काठमाडौंको टोखाको झेर क्षेत्रबाट २५ करोड बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका कुसान लामालाई पक्राउ गरेको थियो ।














