Logo
Logo

पशुपतिनाथ खुला गर्न माग : ‘खुला गर्ने निश्चित छैन’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ असार । पशुपतिनाथ मन्दिरमा दर्शन तथा पुजाआजा गर्न भक्तजनका लागि खुला गर्न हाम्रो नेपाल सुशासन अभियानले माग गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको हो । तर, असार १ गतेदेखि सरकारले ‘लकडाउन’ खुकुलो पार्ने निर्णय गरेसँगै सुरक्षित तथा व्यवस्थितरुपमा दर्शन तथा पुजाआजा गर्न भक्तजनका लागि खुला गर्न अभियानले विज्ञप्तिमार्फत अपिल गरेको हो ।
‘हामी कोरोना संक्रमणको भयानक त्रासदीको वातावरणबाट गुज्रदै अहिले लकडाउनको अवस्था केही खुकुलो बनाउँदै विस्तारै आर्थिक गतिविधिलाई सामान्य बनाउने दिशातर्फ अघि बढेका छौँ । पिसिआर टेष्टको दायरा बढाउने, मास्क अनिवार्य लगाउने, सोसियल डिस्टेनसिङ पालना गर्ने, क्वारेन्टाइन र आइसोलेशनको व्यबस्थापन राम्रो बनाउने उपायद्वारा नै हामी यो संक्रमणबाट राहत पाउन सक्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘चैत ११ मा लकडाउन शुरु भएयता हाम्रा प्रायः सबै गतिविधीहरु बन्द भएका र हाम्रा आस्था र विश्वासका देवस्थलहरु पनि बन्द हुन गए । अब जनजीवन सामान्य हँुदै जानेक्रममा रहेको हुँदा संक्रमणबाट बच्ने मुलभूत उपायहरुलाई अपनाउँदै प्रर्याप्त मात्रामा सुरक्षा तथा अनुशासन व्यवस्थालाई कायम राखी आरध्यदेव पशुपतिनाथको मन्दिरमा दर्शन गर्ने व्यवस्था सुचारु गर्न सम्वद्ध निकायलाई हामी अपिल गर्दछौँ ।’
पशुपतिनाथ आस्था, विश्वास र धार्मिकभावनाको केन्द्र भएकाले इच्छुक भक्तजनले सुरक्षित र अनुशासित ढंगमा दर्शन गर्न पाउने व्यवस्थाको चाहना बढी रहेको रहेको भन्दै सुशासन अभियानले विज्ञप्तिमा भनेको छ, ‘श्रावण महिना लाग्न लागेकाले सुरक्षा कर्मचारी र प्रहरी तथा अन्य पर्याप्त स्वयं सेवकहरुको समेत व्यवस्था गरी आरध्यदेवको पुजा अर्चना तथा आझनो भाव विश्वास आस्थालाई समर्पण गरी मनोशुध्दीको पुनित कार्य जारी राख्न आवश्यक रहेको कुरा स्मरण गराउन चाहन्छौँ ।’
तर, यता भक्तजनका लागि मन्दिर खुला हुने सम्भावना अझै टरिनसकेको पशुपति विकास कोषले जनाएको छ । पर्यटन तथा संस्कृति मन्त्रालयले निर्णयअनुसार बन्द गरिएकाले आफूलाई मन्दिर कहिले खुलाउने भन्ने विषयमा थाहा नभएको विकास कोषका सदस्य अर्जुन बास्तोलाले बताए । उनले भने, ‘हामीले सुरक्षा अपनाएर पुजा–आजा तथा दर्शन गर्न दिने भनेका थियौँ । तर, मन्त्रालयको निर्देशनअनुसार बन्द गरिएको हो ।’ साउनमा खोल्ने कि भन्ने मनशाय भएपनि अहिलेसम्म मन्त्रालयको कुनै निर्णय नआएकाले दर्शनार्थीका लागि कहिलेबाट मन्दिर खुला गर्ने भन्ने थाहा नभएको बास्तोलाले बताए । ‘हामीले केही बोल्नै मिल्दैन’ उनले भने, ‘यो संस्कृति मन्त्रालयलाई मात्र थाहा हुन्छ ।’
हिन्दू धर्मालम्बी महिलाहरुले पवित्र महिनाको रुपमा लिँदै आएको साउन महिना लाग्न केही दिनमात्र बाँकी छ । साउन महिनाभरी हिन्दू धर्मालम्बी नारीहरुले पशुपतिनाथको दर्शन तथा पुजा–आजा गर्ने र व्रत बस्ने गर्छन् । तर, यसपटक विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण पशुपतिनाथलगायत अन्य शिव देवालयहरु बन्द छ । गत ११ चैतमा लकडाउन घोषणा गरिएसँगै देवालयहरु पनि बन्द गरिएको हो ।
पछिल्लो समय लकडाउन खुकुलो पारिएसँगै बजारमा मानिसको चहलपहल बढेको छ । तर, देवालय, मानिस भीडभाड हुने सार्वजनिक स्थलहरुमा अझै खुलेका छैनन् । लकडाउन खुकुलो पारिएसँगै देशमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेकाले हालबन्द रहेका मानिस भीडभाड हुने देवालय स्थलहरु तत्काल खुला गर्ने वा नगर्ने भन्ने मन्त्रिपरिषदको निणर्यपछि कोभिड–१९ नोभल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले टुंगो लगाउने भएकाले अहिले थाहा नभएको संस्कृति मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्