काठमाडौँ । तामाङ पत्रकार सङ्घ काठमाडौं जिल्ला शाखा र विश्वशान्ति चिरण–मिलन क्याम्पसबीच छात्रवृत्ति दिने सम्बन्धी सम्झौता भएको छ । बुधबार बाँसबारीस्थित क्याम्पसमा गरिएको एक कार्यक्रमबीच पत्रकारिता विषय अध्ययन गर्ने तामाङ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा क्याम्पस प्रमुख नेत्रप्रसाद न्यौपाने र शाखाका तर्फबाट अध्यक्ष हिरोज लोप्चनले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार स्नातक तहमा पत्रकारिता विषय अध्ययन गर्ने तामाङ समुदायका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्नेछन् । त्यसका लागि तामाङ पत्रकार सङ्घ जिल्ला शाखा काठमाडौंले सिफारिस गर्नुपर्नेछ । चार वर्षसम्म स्नातक तहमा पत्रकारिता विषय अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने सम्झौतामा उल्लेख छ ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै क्याम्पस प्रमुख न्यौपानेले पत्रकारमा देशको सत्तालाई उथलपुथल गर्न सक्ने शक्ति हुने भन्दै सघंसँग सम्झौता गर्न पाउँदा गौरव महसुस भएको बताए ।
तामाङ समुदायलाई शिक्षा क्षेत्रमा माथि उठाउने र पेसागत गुणस्तरीयतालाई निखार्ने उद्देश्यका साथ क्याम्पससँग सम्झौता गरिएको शाखा अध्यक्ष लोप्चनले बताए ।
संघ र क्याम्पसबीच पत्रकारिता अध्ययन गर्ने तामाङ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने विषयमा भएको सम्झौता उदाहरणीय कार्य भएको तामाङ पत्रकार सङ्घ जिल्ला शाखाका संरक्षक तथा संस्थापक अध्यक्ष युनिकरक्षक ग्लानले बताए । साथै उनले तामाङ समुदायको शैक्षिक उन्नतिका लागि क्याम्पसले उपलब्ध गराउने छात्रवृत्तिका लागि क्याम्पसलाई धन्यवाद व्यक्त गरे । ‘क्याम्पसले पत्रकारिता अध्ययन गर्न चाहने तामाङ समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने प्रतिवद्धता गरी सम्झौता गरेको छ’, उनले भने, ‘यसका लागि क्याम्पस परिवारलाई हार्दिक धन्यवाद ।’
यस्तै शाखाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष सन्तोष योञ्जनले क्याम्पसँग अन्य विषयमा पनि सहकार्य गर्न सकिने बताए । क्याम्पसले छात्रवृत्ति प्रदान गर्दा आफूहरूले पनि आफ्ना सञ्चारगृहमा क्याम्पसका विद्यार्थीहरूलाई प्रशिक्षार्थी पत्रकार (इन्टर्न) गराउन सक्ने बताएका हुन् । ‘हामी क्याम्पससँग थुप्रै सहकार्य गर्न सक्छौँ’, उनले भने, ‘हामी तत्कालै यस क्याम्पसमा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीलाई हाम्रा सञ्चारगृहमा इन्टर्न गराउन सक्छौँ ।’
२०४८ सालमा स्थापना भएको क्याम्पस सुरुवातमा डिल्लीबजारमा रहेको थियो । दुई वर्षसम्म चल्न नसकेपछि बाँसबारी सारिएको थियो ।














