काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर संसद्मा राजनीतिक तरङ्ग उत्पन्न भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा पूर्वराजा शाहको अभिव्यक्तिपछि राजावादीको सक्रियताले स्थान पाएको हो । यसअघि संसद् बैठकहरूमा पनि राजावादीको सक्रियताले स्थान पाउँदै आएको थियो ।

आजको प्रतिधितिसभा बैठकमा राजावादी र गणतन्त्रवादी आमनेसामने नै भएका छन् । गणतन्त्रवादीहरूले राजतन्त्र पुनः स्थापना नहुने दाबी गर्दा राजावादीहरूले यो व्यवस्थाबाट जनता आजित भइसकेकाले राजतन्त्र फर्काएरै छाड्न जिकिर गरेका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा सांसद विमलेन्द्र निधिले कुनै पनि हालतमा राजतन्त्र नफर्कने दाबी गरे । उनले जनताको विरुद्धमा गए आफूहरू जे पनि गर्न तयार रहेको चेतावनी दिए ।
उनले भने, ‘कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन । कुनै पनि किसिमको राजतन्त्र फर्किने अवस्था छैन, जनताले चाहेको छैन, रुचाउँदैन । त्यसका लागि जे पनि गर्न तयार छौँ, हेक्का रहोस् ।’
उनले देशी–विदेशी साधुसन्तले भनेजस्तो राजतन्त्र आउँछ भन्ने नसोच्न चेतावनी दिए । ‘देशी–विदेशी साधुसन्तले भनेर नेपालमा यो आउँछ त्यो आउँछ कसैले सोच्छ भने नसोचे हुन्छ,’ उनले भने, ‘स्मरण गरौँ, हामीले यही संविधान जारी गर्ने बेलामा तथाकथित नाकाबन्दी भएको थियो । हामीलाई रोक्न पनि खोजिएको थियो । हामी चाहिँ आफ्नै नेपाल, नेपाली फस्टलाई हामी आफैँले प्रयोगबाट प्रमाणित गरेका छौँ ।’
उनले जनताले सम्मान दिएको भन्दै सीमा पार नगर्न चेतावनी दिए । ‘इतिहासमा हेर्ने हो भने राजतन्त्र अन्त्य हुने बेलामा कस्तो दुर्गति हुन्छ तत्कालीन राजाहरूको, नेपाली जनताले त्यो धैर्यता, सहनशीलता, सम्मान दिएको छ । त्यो सीमालाई पार गर्न हुँदैन, सचेत गराउन चाहन्छु ।’
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले राजतन्त्र नआउने र आउन नदिइने बताएका छन् । उनले भने, ‘०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । त्यस दिनबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्रको प्रारम्भ भएको हो ।’
उनले वंशनासँगै समाप्त भएको राजतन्त्र फेरि नफर्कने बताए । ‘वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्किँदैन । सार्वभौम भएको जनता फेरि राजतन्त्र ल्याउने मूर्खता पनि गर्दैन भन्ने स्पष्ट गर्न चाहन्छु ।’
शर्माले राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी नभएको बताए । बरु, समाजमा रहेको, आफैँभित्र रहेको राजतन्त्रीय प्रवृत्ति र व्यहारको अन्त्य गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘आफैँभित्रको राजतन्त्रको अन्त्य गर्न लाग्नुपर्छ । आजको मुख्य काम यही हो ।’
प्रतिनिधिसभा मात्रै नभई राष्ट्रियसभा बैठकमा यस विषयमा बहस भएको छ । सोमबारको राष्ट्रियसभा बैठकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले नेपालमा पुनः राजसंस्था फर्काउँछु भन्नु दिवास्वप्न भएको बताए ।
उनले भने, ‘जुन राज जनतासँग बस्न तयार भएनन् ती राजाहरू समाप्त भएका छन्। अहिले फेरि राजाले परिकल्पना गर्ने कि फर्किएर आउने। हो फर्किएर आउने हो भने लोकतन्त्रमा सबैलाई अधिकार छ आफ्नो कुरा राख्ने। तर नवराज सुवेदीको अध्यक्षतामा राजा फर्काउँछु भन्छ भने यो दिवा सपना हो ।’
गणतन्त्रवादी नेताहरूले यसरी राजतन्त्र फर्कन नसक्ने दाबी गरिरहँदा राजावादी नेताहरूले पनि राजतन्त्रको पक्षमा वकालत गरेका छन् । राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले प्रतिनिधिसभामा राजतन्त्रलाई नआत्तिन गणतन्त्रवादी दलका नेतालाई आग्रह गरेका छन् ।
‘गणतन्त्र आएको दुई दशकमा राजाले एकदिन पनि सरकार चलाउनेलाई आन्दोलन वा केही गरेर रोकेको छैन, हस्तक्षेप गरेको छैन। तैपनि किन हो ? कसो हो ? सबै आत्तिएको जस्तै देख्छु, पूर्वपश्चिम फर्कने पनि एकैतिर फर्केको महसुस गरेँ, त्यति आत्तिनुपर्दैन। नआत्तिनुस्, देश तपाईँ हामीले नै मिलेर बनाउने हो ।’
सिंहले पूर्वराजाले सरकारलाई बेलाबेलामा सुशासन र जनतालाई राहत दिन आग्रह गरेर सन्देश दिएको बताए । तर, सरकारले सुध्रिने लक्षण नदेखिएपछि प्रजातन्त्र दिवसको अवसरमा राष्ट्र र जनता बचाउन एकपटक साथ दिन भनेको उनको भनाइ छ ।
यसरी सदनमा आमनेसामने भएका राजावादी र गणतन्त्रवादीबिच सडकमा भने मुठभेटको सम्भावना रहेको छ । यही चैत्र १५ गते एकैदिन समाजवादी मोर्चा र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
मोर्चाले गणतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध प्रदर्शन आवश्यक भएको निष्कर्ष निकालेको छ । प्रदर्शनका लागि मोर्चाले आफ्ना भातृसंगठन अन्तर्गतका कमिटीहरूलाई जिम्मा दिइसकेको छ । पछिल्लो समय मोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको भन्दै त्यसविरुद्ध प्रदर्शनमा उत्रिएको हो ।
मोर्चाले प्रदर्शनको मिति तय गरेपछि प्रसाईँले पनि सोही दिन काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेका छन् । उनले सबै राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन समेत प्रसाईँले अपिल गरेका छन् ।
राजाको समर्थनमा र मोर्चाले गणतन्त्रको पक्षमा एकैदिन प्रदर्शन गर्ने भएपछि मुठभेडको अवस्था आउन सक्ने सुरक्षा संयन्त्रहरूको आशङ्का छ । सुरक्षा संयन्त्रहरूले पछिल्लो समय पूर्वराजा समर्थकहरूको गतिविधिलाई सूक्ष्म ढङ्गले निगरानी गरिरहेको जनाएको छ ।














