Logo
Logo

सिन्धुपाल्चोकमा बाढीले बगाँउदा दुईको मृत्यु, १८ बेपत्ता, आजबाट देशैभरी जोखिम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असार ।
सिन्धुपाल्चोकको ठाडो सिंगार्चे खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिका५ को जम्बु बजार बगाएको छ । बाढीमा दुई जनाको मृत्यु भएको र कम्तीमा १८ जना बेपत्ता भएका छन् ।


भारी वर्षासँगै गएराति ११ बजे आएको बाढीले भोटेकोसी नदीलाई थुनेपछि पानीको बहाब बढेकाले जम्बु बजार बगाएको हो ।
बाह्रबिसे नगरपालिका(५ निवासी २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव स्थानीयले बिहान पाँच बजे नै फेला पारेका छन् । बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको बाह्रबिसे नगरपालिकाका मेयर निम्फुञ्जो शेर्पाले जानकारी दिए ।

उद्धार कार्यमा सबै सुरक्षा निकायलाई परिचालन गरिएको शेर्पाले बताए । बाढीले जम्बु बजार, खाकदल बजारका १० वटा टहरा र दर्जनौं ठाउँमा सडक बगाएको उनले बताए । जुरेमा पहिरो आएकोले अरनिको राजमार्ग समेत अवरुद्ध छ ।

साथै बाढीले मध्यभोटेकोसी जलविद्युत आयोजनाको लजिष्टिक गोदाम बगाएको छ । कोदारी राजमार्गको जम्बुखण्ड बगाएकोले आवत(जावत बन्द छ । बाढीले सडक बगाएपछि बाह्रबिसे र तातोपानीको सम्बन्धबिच्छेद भएको छ । बाढीबाट बाँच्न सफल भएका स्थानीय गाउँभन्दा पाँच सय मिटरमाथि खेतमा गएर बसेका छन् ।

यसैगरी बाह्रबिसेका युधीर पौडेलले दिएको जानकारीअनुसार भोटेकोसी गाउँपालिकाको मार्मिङस्थित बुल्कोटे खोलाले एक घर बगाएको छ । बाह्रबिसे छेउमै रहेको खाकदल खोलामा बाढी आउँदा राती नै स्थानीय खाकदल बजार छोडेर भागेका छन् ।
भोटेकोसीमा आएको ठूलो बाढीले बाह्रबिसे तल्लो बजारको एक घर बगाएको छ । बाढीले मोटरेबल पुलको एक भागलाई धक्का दिइरहेकोले पुलमा पनि क्षति पुगेको छ ।
जम्बु बजार बगाएर गाउँ नै भोटेकोसीमा मिसिएपछि बाह्रबिसे बजारवासी घर छोडेर राती नै सुरक्षित ठाउँतर्फ भागेका छन् । बाढीको त्रासले लिपिङदेखि खाडिचौरसम्म रहेका तटीय क्षेत्रका स्थानीय घर छोडेर सुरक्षित स्थानतर्फ लागेका छन् । कोदारी र अरनिको राजमार्ग ठाउँठाउँमा बगाएकोले उद्धार कार्यमा कठिनाई भइरहेको छ । सुरक्षा निकायले उद्धार जारी राखेका छन् ।
आजदेखि प्रदेश नम्बर १ र २ मा भारी वर्षा हुने भएकाले थप बाढी पहिरोको जोखिम रहेको भन्दै सतर्क हुन गृह मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्