Logo
Logo

त्रिविले किन सच्यायो डिएसपीको जन्म मिति ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ असार ।
त्रिभुवन विश्वबिद्यालय र नेपाल ल क्याम्पसले गोरखापत्रमा सूचना निकालेर नेपाल प्रहरीका एक डिएसपीको जन्ममिति सच्याएको छ । डिएसपी रमेश बहादुर सिंहको जन्ममिति यसरी पत्रिकामै निकालेर सच्याएको हो ।


शंका लागेर छानबिन गर्दा झुक्याएको पाइएपछि सच्याइएको त्रिविको परीक्षा नियन्त्रण कार्यालय र ल क्याम्पसले जनाएको छ । यसरी पत्रिकामै सूचना निकालेर जन्ममिति सच्याउनुको पछाडी ठूलो कथा गाँसिएको छ ।
डिएसपी सिंहको वास्तविक जन्ममिति २०३२/ १०/ १२ भएकोमा २०३३/ १० /१२ जन्ममिति राखेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अर्काे नागरिकता निकालेका थिए । नेपाल प्रहरीको इन्सपेक्टरमा भर्ना हुने उमेर नाघिसकेकाले उनले त्यसरी चलखेलका आधारमा जन्ममिति सच्याएर नागरिकता लिएको र त्यही आधारमा शैक्षिक प्रमाणपत्रको प्रतिलिपिहरु लिएको छानबिनमा खुलेको छ । त्रिविलाई समेत झुक्याएर शैक्षिक प्रमाणपत्रमा नयाँ जन्म मिति राखेको खुलेपछि अहिले पत्रिकामा सूचना निकालिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा यस्तो बदमासी खुलेको हो । त्रिवि र नेपाल ल क्याम्पसका प्रतिनिधि समेत त्यसरी उमेर सच्याइएको घटनामा फस्ने देखेपछि उनीहरुले पत्रिकामा सूचना निकालेर जन्ममिति सच्याई आफ्नो जागिर जोगाएका छन् ।

तर, डिएसपी सिंहलाई भने जागिर जोगाउन निकै कठिन हुने देखिएको छ । अख्तियारले उनीसहित उनलाई सघाउनेविरुद्ध मुद्दा दायर गर्न लागेको छ ।
उनले सुरुमा बझाङबाट २०३२/१०/ १२ जन्ममिति राखी सुरुमा नागरिकता लिएका थिए । २०५८ सालमा इन्सपेक्टरमा फर्म पर्दा उमेर २६ वर्ष हुने भएपछि सच्याएर अर्काे नागरिकता बनाइएको थियो । त्यतीबेला उनलाई सघाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी र बझाङको एक स्कुलमा प्रधानाध्यापकविरुद्ध मुद्दा दायर गर्न लागिएको अख्तियार स्रोत बताउँछ ।
डिएसपी सिंह यसअघि घुसकाण्डमा परेकोमा अदालतबाट सफाई पाएका थिए । पछि सर्वेन्द्र खनाल आईजिपी भएपछि उनलाई बढुवा गरी बौद्ध वृत्तको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्