Logo
Logo

पहिरोमा अझै २० बेपत्ता, खोजी र उद्धारमा कठिनाइ


- दृष्टि न्युज/संवाददाता


म्याग्दी, २७ असार । धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोमा बेपत्ताको खोजी र उद्धारमा कठिनाइ भएको छ ।
प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण सुरक्षाकर्मी पुग्न नसक्दा शुक्रबार बिहान पहिरो गएको ठाउँमा उद्धार र खोजीमा ढिलाइ भएको हो । सडक र घोरेटोबाटो पहिरोले भत्काएकाले शनिबार बिहानसम्म सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न सकेका छैनन् ।


बेनी, दरवाङ र ताकमबाट गएको सेना, प्रहरी, सशस्त्र प्रहरी र स्वमंसेवकको टोली बाटो नभएर सम्बन्धित ठाउँमा पुग्न नसकेका हुन् । मराङको कल्लेनीको पहिरोमा ताकम प्रहरी चौकीको टोली शुक्रबार दिउँसो पुगेको थियो । प्रहरीसहित उद्धारका लागि कल्लेनी हुँदै मराङ जान हिँडेका धारापानीका किरन थापाले गोरेटो र घोरेटो बाटो नभएकाले सम्बन्धित ठाउँमा पुग्न नसकेको बताए । मराङका वडाध्यक्ष राजाराम सुवेदीले जनप्रतिनिधि, स्थानीयवासी, युवा क्लब र आमा समूहका प्रतिनिधिले पहिरोमा फसेकाको उद्धार र बेपत्ताको खोजी गरिरहेको बताए ।
चारैतिर पहिरोले घेरिएको कल्लेनीका ५० जनाभन्दा बढीलाई गाउँपालिकाको अगुवाइमा उद्धार गरेर धारापानी र ताकम लगिएको छ । घण्टीवाङका पहिरोपीडित १३ परिवार आरवाङको जनविकास आधारभूत विद्यालयको भवनमा आएर बसेका छन् ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले स्थलमार्गबाट जान सम्भव नभएपछि सेनाको हेलिकप्टरबाट सुरक्षाकर्मीलाई पहिरो प्रभावित ठाउँमा पु¥याउने तयारी भएको बताए । शुक्रबार दुई पटक गएको हेलिकप्टर मौसमको खराबीका कारण भिजिबिलिटी नभएर फिर्ता भएको थियो ।
दरवाङ पुगेको सुरक्षाकर्मीको टोली स्थलमार्ग र अर्थुङे ब्यारेकबाट आज बिहान हेलिबाट सुरक्षाकर्मी पठाउन लागिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको टोली पहिरो प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको छ ।
गएराति वर्षा नभएको र बिहानसम्म बादल लागेको स्थानीयवासीले बताएका छन् । पहिरोमा पुरिएर मराङको कल्लेनीमा तीन, राम्चेमा १०, रिखमा सात, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका थिए । कल्लेनीका १८ वर्षीय प्रकाश केसी र ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव भेटिएको स्थानीयले जानकारी गराएका वडाध्यक्ष सुवेदीले बताए । अझै २० जना बेपता छन् ।
बिमको तल्लोगाउँका पाँच, दुलेका दुई र नौरुका एक जनाको खोजी भइरहेको छ । रघुगंगा गाउँपालिका–६ ठाडाखानीको लापु खोलाले बगाएर ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ को दुखु खोलाले बगाएर स्थानीय ४० वर्षीय गीता रोकालाई बेपत्ता बनाएको छ । खोला तर्ने क्रममा बेपत्ता भएकी रोकाको खोजी जारी छ ।
पहिरो र बाढीले धौलागिरि र मालिका गाउँपालिका जोड्ने दाङखोलाको अस्थायी मोटरेबल पुल, बेनी–जोमसोम सडकको राहुघाट बेलिब्रिज, बिमको शिवरात्रिस्थित ट्रस पुल बगाएको छ । ताकम स्वास्थ्यचौकीको पुरानो भवन, मंगलाघाट प्रहरी बिटको भवन, नौमानेको शिव आधारभूत र ताकम माविको भवन भत्किएको छ । रघुगंगा–३ राहुघाटका करिब २५ घर विस्थापित भएका छन् । राहुघाटमा पाइप बगाएपछि सदरमुकाम बेनी बजारमा पुम्दीखोलाको पानी आपूर्ति बन्द भएको छ । यसैगरी सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र जोड्ने सबै सडक र पश्चिमी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्