Logo
Logo

एआईजी बढुवाको तयारीः प्रहरीमा सिष्टम बिगार्न प्रधानन्यायधशीदेखि अख्तियारप्रमुखसम्मको चलखेल ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ असार ।
बरियता र कार्यक्षमताको आधारमा प्रहरी महानिरीक्षक नियुक्त गरेको भनेर सरकारको प्रशंसा भइरहेको छ । तर, एआईजी बढुवामा भनेर प्रहरीको सबै सिष्टम नै ध्वस्त बनाउन सरकारका केही मन्त्री मात्र होइन राज्यका अन्य निकायहरु समेत लागेका हुन् ।


नेपाल प्रहरीमा रिक्त दुई अतिरिक्त महानिरीक्षक पदमा गृह मन्त्रालयले बढुवाको तयारी थालेको छ । असारभित्र बढुवा सिफारिस नगरे नयाँ आर्थिक वर्षमा नयाँ कार्यसम्पादन मूल्याङकन गर्नूपर्ने भएकाले असारभित्रै बढुवाको तयारी छ । नेपाल प्रहरीमा प्रशासनतर्फ एआईजीका तीन दरबन्दी रहेकोमा हाल हरि बहादुर पाल मात्र कार्यरत छन् ।

दुइ एआईजी बढुवामा लागि प्रहरी महानिरीक्षक क्षेत्रीकै ब्याचका डिआईजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्की प्रमुख प्रतिस्पर्धी छन् । तर, जुनियर डिआईजीहरुबाट पनि एआईजी हुनका लागि शक्तिकेन्द्रबाट भएको चलखेलले गृह मन्त्रालयका अधिकारीहरु नै चकित छन् ।

आईजीद्वय शाही र कार्की सिनियर मात्र होइनन अहिलेसम्म कुनै दाग नलागेका अधिकृत हुन् । उनीहरुलाई प्रहरी महानिरीक्षककै प्रतिस्पर्धीका रुपमा लिइन्थ्यो । तर, एआईजी बढुवामा पछि परेका थिए । अहिले उनीहरुलाई नै फेरि अन्यायमा पार्न लागिएको हो । न्याय दिने निकाय सर्वाेच्च अदालतका प्रधानन्यायशी चोलेन्द्रशमशेर जबरा, अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरे लगायत प्रहरीको सिष्टम बिगार्न दबाब दिइरहेका गृहका एक उच्च अधिकारी बताउँछन् । त्यस्तै मुख्यसचिव लोकदर्शन रेग्मीले पनि डिआईजी विश्वराज पोखरेललाई बढुवा गर्न उनीहरुले गृहमन्त्री तथा गृहसचिवलाई दबाब दिएका छन् ।

यसअघि पनि दुई ब्याच उछिनेर पोखरेललाई डिआईजीमा बढुवा गरिएको थियो । जून घटना प्रहरीमा ठूलो गलत नजिर बनेको थियो । यसले प्रहरीको बढुवाको सिष्टम बिगारेको प्रहरी अधिकारीहरु बताउँछन् । जसकारण कतिपय इमान्दार प्रहरी अधिकृतहरु निराश बने । अहिले फेरि एक व्यक्तिका लागि प्रहरीलाई ध्वस्त बनाउन लागिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री मात्र होइन सरकारकै लागि एआईजी बढुवा अर्काे अग्निपरीक्षा बनेको छ ।

सरुवा बढुवामा हुने यस्ता चलखेलले प्रहरीको सिष्टम ध्वस्त हुने र सिंगो प्रहरी कमजोर बन्ने निश्चित छ । जसको असर शान्ति सुरक्षामा पर्ने छ । शान्ति सुरक्षाको असर देशको समग्र विकासमा पर्ने भएकाले प्रहरीलाई कमजोर बनाउँदा देश नै कमजोर हुने भएकाले प्रहरीलाई सिष्टममा चलाउन दिनुपर्ने एक अवकाशप्राप्त एआईजी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्