Logo
Logo

पहिरोपीडित भन्छन्, ‘तान्दातान्दै श्रीमती र छोरीलाई पुर्यो’


- दृष्टि न्युज/संवाददाता


म्याग्दी, २८ असार । धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । ‘बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए’, हीराका श्रीमान् धनबहादुरले भने, ‘अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो ।’
पहिरोमा भाग्ने क्रममा घाइते भएर बेनी अस्पतालमा उपचार गराइरहेका धनबहादुर श्रीमती, छोरी कञ्चन र करिश्मालाई गुमाउनुको पीडाले भक्कानिए ।
जुग्जालीका छोरा अर्जन र अर्की छोरी रितु पहिरो आएको थाहा पाएपछि भागेका थिए । करिब ३६ घण्टासम्म शरीरमा लागेको चोटको पीडा सहेर बसेका धनबहादुरले शनिबार साँझ अस्पताल आएपछि दुःखाई कम भएको सुनाए । उनले भने, ‘खेतबारी, गोठ र घर सबै पहिरोले बगायो । न बस्ने घर छ । न जीवनमा साथ दिने श्रीमती र साना छोरीहरु रहे ।’ पहिरोमा घाइते भएका १२ जनाको शनिबार दिउँसो नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।

पहिरो खस्न थालेपछि घरभित्र सुतिरहनुभएकी आमा ताजिमा केसी र साथी सविन पुनलाई उद्धार गर्न गएका धवलागिरि गाउँपालिका–६ कल्लेनीका १६ वर्षीय प्रकाश केसी पहिरोमा पुरिए । घरछेउको खोल्सामा बाढी र माख्लाको भिरबाट पहिरो खस्न थालेपछि शुक्रबार बिहान १ बजे छिमेकी परदेवी पुनकहाँ गएका केसी आमा र साथीलाई भगाउन बिहान ५ बजेतिर घर गएका थिए ।
‘मामा (प्रकाश)ले राति १ बजे आएर हामीलाई उठाउनुभयो । बिहानै उपल्लो कल्लेनी जाने भनेर बसेका थियौँ’, पहिरोमा भाग्ने क्रममा घाइते भएकी परदेवीले भनिन्, ‘पाँच बजेतिर उज्यालो हुन लागेपछि खोला कत्रो आयो हेर्छु, सविन र आमालाई उठाएर ल्याउँछु भनेर गएका मामालाई हेर्दाहेर्दै पु¥यो । हामीलाई पनि भाग्दाभाग्दै ढुंगाले चोट लाग्यो ।’
धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबारको पहिरोले २७ जनाको मृत्यु भएको छ । बेपत्ता भएका तीन जीवितै सम्पर्कमा आएका छन् । चार अझै बेपत्ता छन् । धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका आठ र रघुगंगा–६ ठाडाखानीका एक जनाको शव भेटिएको प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्