Logo
Logo

भ्रम सिर्जना गरी ममाथि हस्तक्षेप गरियो : कसजु


- दृष्टि न्युज/संवाददाता

693
Shares

काठमाडौं, २९ असार । नेपाल परिवार नियोजन संघका अध्यक्ष हिमालय लाल कसजुले आफ्नो कार्यकालको सम्बन्धका भ्रमपूर्ण विवरणका आधारमा विवाद सिर्जना गरी हस्तक्षेप गरिएको जनाएका छन् ।
आफूविरुद्ध भ्रामक तथ्य खडा गरी दिइएको निवेदन उपर जिल्ला प्रशासन कार्यलय काठमाडौंले समेत तिनै भ्रामक तथ्यलाई आधार बनाएर आफ्नो कार्यकालको सम्बन्धमा विवाद सिर्जना गरी संस्थागत स्वतन्त्रता, स्वायत्तता र स्वशासनमा गैरकानुनी हस्तक्षेप गरेको उनको भनाइ छ ।
अध्यक्ष कसजुले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो कार्यकालको हस्तक्षेप भएकामा न्यायिक उपचारका लागि सर्वोच्च अदालतमा रिट निवेदन दिएको समेत जानकारी गराएका छन् । अध्यक्ष कसजुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘म हिमालय लाल कसजु नेपाल परिवार नियोजन संघको २०७५ साल पौष ५ गते पोखरामा सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा तीन वर्षको कार्यकालका लागि निर्विरोध निर्वाचित भै कार्यरत रहेको छु । मेरो कार्यकालका सम्बन्धमा भ्रामक तथ्य खडा गरी दिइएको निवेदन उपर जिल्ला प्रशासन कार्यलय काठमाडौंले पनि तिनै भ्रमपूर्ण विवरणमा आधारित भई मेरो कार्यकालका सम्बन्धमा विवाद सिर्जना गरी संस्थागत स्वतन्त्रता, स्वायत्तता र स्वशासनमा गैरकानुनी हस्तक्षेप गरेको छ । उक्त गैरकानुनी हस्तक्षेपविरुद्ध न्यायिक उपचार पाउन मैले मिति २०७७/३/२४ मा सम्मानीत सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिसकेको छु ।’
अध्यक्ष कसजुले आफूमाथि मिथ्या आरोप लगाए पदमुक्त गर्ने प्रयास गरिएको समेत बताएका छन् । ‘म काठमाडौं भित्रै रहेको र दैनिक रुपमा संघको कार्यलयमा समेत उपस्थिति हुँदै आएको छु’ कसजुको विज्ञप्तिमा भनिएको छ, ‘विधानको दफा १५ ले आकस्मिक बैठक बोलाउने अधिकार अध्यक्षलाई मात्र प्रदान गरेको सन्दर्भमा संस्थाभित्र हुने यस्ता अवैधानिक बैठकले उल्टै भ्रम सिर्जना गरेको हुँदा यस्ता विषयमा भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्