Logo
Logo

सिसुवा पहिरोमा बेपत्ता भएका ११ जना अझै भेटिएनन्


- दृष्टि न्युज/संवाददाता


खाँदबारी, २९ असार । सिलिचोङ गाउँपालिका– १ को बेसिन्दामा आइतबार बिहान गएको पहिरामा परी ११ जना बेपत्ता भएका छन् । प्रहरी, सशस्त्र, सेना र स्थानीय बासिन्दा बेपत्ताको खोजी गरिरहेको छ । लगातार पानी परिरहेकाले हराइरहेका फेला परेका छैनन् । बिहानैदेखि खोजी शुरु गरिएको प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए ।
विकट र भिरालो जमिन भएकाले बेपत्ताको खोजीमा समस्या छ । अहिले पनि पहिरो खस्नेक्रम नरोकिएको स्थानीय बासिन्दाले बताए । प्रहरी, सशस्त्र र सेनाले ७८ घरका ३४९ जनालाई चित्रे गाउँमा सारेका छन् । पहिरामा परेर ६५ वर्षीया गोरीमाया र २२ वर्षीया छोरी प्रकृति, राममान, हस्तकुमारी, छोरी एञ्जीला र नम्रता राई हराइरहेका छन् ।
एञ्जीला गर्भवती थिइन् । अर्का जुद्धबहादुर माने(राई) र श्रीमती उत्तरकुमारी पनि बेपत्ता छन् । नजमाया, हर्कराज, आइतमाया राई पनि बेपत्ता छन् । पहिराले राममान राई, जुद्धबहादुर माने, जुद्धबहादुर गैरी, नगमाया, सन्दीप, भीमबहादुर, शीवधन गोवासिंह र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ ।
सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपद् व्यवस्थापन, खोज तथा उद्धार सामग्रीसहित घटनास्थलतर्फ हिँडिसकेका छन् । खाँदबारीबाट नेपाल प्रहरी १५, सशस्त्र प्रहरी बल १५ र नेपाली सेना ३० गरी ६० जनाको टोली घटनास्थल गएका हुन् । दिनभरि झरी परेको र हुस्सु लागेका कारण तयारी अवस्थामा राखिएको हेलिकप्टर उद्धारका लागि ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए

प्रतिक्रिया दिनुहोस्