Logo
Logo

भिज्दै भोकभोकै त्रिपालमा पाँच सय पीडित


- दृष्टि न्युज/संवाददाता


जाजरकोट, ३० असार । गाउँभरि पहिरो आएपछि ज्यान जोगाउन विस्थापित भएका पाँच सय भन्दा बढी सर्वसाधारण खानेकुराको अभावमा भोकभोकै बस्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा एक गेडो चामल नभएपछि सर्वसाधारण समस्यामा परेका हुन् ।
ठेकेदारले स्वीकृत कोटा एक हजार ५७ क्विन्टल चामल यो आर्थिक वर्षका लागि घाट डिपोमा ढुवानी नगर्दा समस्या चुलिएको छ । सदरमुकामको गोदाममा भने भरिभराउ चामल छ । ठेकेदारलाई जतिपटक चामल लिन आग्रह गरे पनि नमानेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुखले नै बदमासी गर्ने ठेकेदारलाई जोगाउने गरेको प्रजिअ पन्तको भनाइ छ । ‘बारेकोटमा नयाँ ठाउँमा खाद्य डिपो स्वीकृत भएर आयो तर चामल आएन’, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले भने ।
एक महिनादेखि रित्तो रहेको डिपोमा चामल लिन आएका सर्वसाधारण पनि रित्तो हात फर्केका छन् । विद्यालय तथा पाल हालेर खुलाचौरमा ज्यान जोगाउन बसेका सर्वसाधारण आफन्त जोगाउनुको पीडाका साथै खानेकुराको अभावमा भोकै बस्नुपरेको बारेकोट गाउँपालिका–५ का मोहनजंग शाहीले बताए ।
पहिरो गएको चार दिनसम्म वनमन्त्री शक्तिबहादुर बस्नेतले हेलिकोप्टरमा ल्याएको दुई हजार ३०० किलो राहतबाहेक अन्य कसैले पनि राहत वितरण नगरेको सर्वसाधारणको गुनासो छ । मन्त्री बस्नेतको पहलमा उपलब्ध भएको सो राहतले केही समस्या टरेको छ ।
चार दिनपछि सदमुकाम खलंगामा विपद् व्यवस्थापन समितिको बैठक बसी राहत सामग्री ल्याउने विषयमा छलफल भएको छ । गाउँगाउँमा सर्वसाधारण बाँच्नका लागि जंगलमा पाल टाँगेर आधा शरीर भिज्दै बसिरहेका बेला सदरमुकाममा भने बल्ल चार दिनपछि सामान्य छलफल शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्