काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरू घट्दै गइरहेको बताएकी छन् । भूराजनीतिक कारणले वैदेशिक अनुदान अझै घटेर जाने प्रति उनको संकेत रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले भनिन्, ‘वैदेशिक अनुदान र ऋणहरू पहिलाभन्दा कम हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । हाम्रो वैदेशिक सहायताको स्थिति पहिला भन्दा कम छ ।’
उनले अनुदान घट्नु नराम्रो नभएको पनि बताइन् । उनले भनिन्, ‘२०४६ सालमा २० अर्बको बजेट हुँदा ५० प्रतिशत वैदेशिक ऋण थियो । २०८१ मा अनुदानको हिस्सा १८ खर्बको बजेटमा १४।४ प्रतिशत थियो । यसको अर्थ, नेपालले आफ्नो राजस्व संकलन बढाएर लगेको देखिन्छ ।’
उनले सबै नेपालीमा रहेको आर्थिक विकास र प्रगतिको आकाङ्क्षाहरू निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिने बताइन् । ‘सबै नेपाली आर्थिक विकास र प्रगतिको आकाङ्क्षी छौँ । ती आकाङ्क्षाहरू निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिनेछ’ उनले भनिन्, ‘विकासशील राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्नेछ । द्रूत आर्थिक वृद्धि एवं विकासको आकांक्षा हामीलाई पूरा गर्नु छ ।’
उनले पूँजीगत खर्च बढाउन जरुरी रहेको र त्यसका लागि सरकार कटिबद्ध रहेको बताइन् । उनले भनिन्, ‘राजनीतिक स्थायित्व नहुँदा विगतमा समस्या देखिएका थिए, अब हट्छ ।’














