Logo
Logo

एआईजी बढुवाको प्रतिस्पर्धामा डिआईजी थापा पनि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ असार ।
चरम राजनीतिकरणले नेपाल प्रहरीको एआईजी बढुवा अन्योलमा परेको छ । रिक्त रहेका दुई एआईजी पदमा सिनियर डिआईजीद्वय निरज शाही र प्रद्युम्न कार्कीको स्वतः बढुवा हुनुपर्ने हो । बरिष्ठता र कार्यक्षमताका आधारमा उनीहरु स्वभाविक दाबेदार हुन् । तर, जुनियर डिआईजीहरुले शक्तिकेन्द्र धाएर दबाब दिएपछि बढुवा प्रक्रिया अन्योलमा परेको छ ।


डिआईजी विश्वराज पोखरेल जसरी पनि एआईजी हुन लागेपछि उनका ब्याचका अर्का डिआईजी सहकुल थापाले समेत बढुवाको दाबी गरेका छन् । सिआईबीमा कार्यरत थापाको सत्तारुढ दलका नेताहरुसँग निकट सम्बन्ध छ । सोही आधारमा गत बैशाखमा भएको बढुवामा उनी पहिलो नम्बरमा परेका थिए । पोखरेल र थापा एउटै ब्याची हुन् । थापाको प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत निकटस्थ सम्बन्ध छ । डिआईजी पोखरेल उपप्रधानमन्त्री ईश्वर पोखरेलका आफन्त हुन् ।

अहिले आफ्नो ब्याचबाट एकल एआईजी भए २०७९ को बैशाखमा स्वतः आईजिपी हुने भएकाले पोखरेलले सबै शक्तिकेन्द्रबाट दबाब दिएका हुन् । पछिल्लो समय राम्रो काम गरेर चर्चामा आएका डिआईजी थापाले पनि आफ्नो दाबी प्रस्तुत गरेको स्रोत बताउँछ । दुई पदमा चार डिआईजी प्रतिस्पर्धामा लागेपछि बढुवा समितिको बैठक बस्न सकेको छैन ।

जुनियर डिआईजीलाई बढुवा गरिए प्रहरीमा त्यसको दुरगामी रुपमा नकारात्मक असर पर्ने प्रहरी अधिकारीहरु बताउँछन् । ‘यसले प्रहरी बढुवामा गलत नजिर बसाउनेछ,’ एक प्रहरी अधिकारी भन्छन्,‘काम गर्ने भन्दा नेताहरुलाई खुशी बनाए अघि बढिन्छ भन्ने मान्यता स्थापित हुन्छ, यसले नेपाल प्रहरीमा ध्वस्त हुन्छ ।’ केही व्यक्तिको स्वार्थका लागि प्रहरी संगठनलाई नै कमजोर बनाउन नहुने प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्