Logo
Logo

मोबाइल तस्करी गर्ने व्यापारीलाई चार अर्बको मुद्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ३१ असार ।
आर्थिक वर्षको अन्तिम दिन राजस्व अनुसन्धान विभागले ठूलो बिगोको मुद्दा दायर गरेको छ । विभागले राजस्व छलेको अभियोगमा दुई फर्म र तिनका सञ्चालकविरुद्ध झण्डै ४ अर्ब रुपैयाँ विगो मागदाबी गरेर मुद्दा दायर गरेको छ ।


सोह्रखुट्टेको हाइटेक ईन्टरनेशनल प्रा.लि.का सञ्चालकसहित दुई जनामाथि २ अर्ब ४२ करोड रुपैयाँ बिगो मागदाबी गरेको हो । उक्त कम्पनीले भन्सार विन्दुबाट मालसामान ल्याउँदा लुकाई छिपाई ल्याएको आरोप छ । उसले त्यसरी ल्याएको सामानमध्ये थोरैको मात्रै बिल जारी गरेको भन्दै विभागले १ अर्ब ७१ करोड रुपैयाँ भन्सार चुहावट गरेको आरोप लगाएको हो । अनि ५९ करोड २८ लाख रुपैयाँ भ्याट छलेको आरोप छ । आयकर र लाभांश गरी १२ करोड १४ लाख गरेको आरोप छ । सो कम्पनीले मोबाइल लगायत सामान तस्करी गरी ल्याउँदै आएको थियो ।
त्यसैगरी, ललितपुर सानेपामा रहेको जेएसएस मोबाईल सर्भिसेजसहित अरु तीन कम्पनीका सञ्चालकले १ अर्ब ३९ करोड रुपैयाँ छलेको आरोपमा विभागले अर्को मुद्दा दायर गरेको हो । ती कम्पनीहरुमाथि भन्सार छलेर मेमोरी कार्ड, पेन डाईभ लगायतका सामान ल्याएको आरोप छ । उनीहरुको कम्पनीमा छापा मार्दा वास्तविक कारोबार लुकाउन छुट्टै खातापाता राख्ने गरेको भेटिएको विभागको दाबी छ ।

विभागले १ अर्ब १ करोड भन्सार छलेको, ३२ करोड २४ लाख भ्याट छलेको अनि ४ करोड ८५ लाख रुपैयाँ आयकर र लाभांश छलेको आरोप लगाएको हो । उक्त कम्पनीका साथ राजस्व छलीको आरोपमा मुछिनेमा श्याम इम्पेक्स र श्याम बाबा इन्टरप्राइजेजका सञ्चालक छन् ।
विभागले राजश्व छलीविरुद्धको कारबाहीलाई तिव्रता दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्