काठमाडौं । नेपाल सरकारले विभिन्न बहुराष्ट्रिय तथा क्षेत्रीय वित्तीय संस्थामा ११ अर्ब ५२ करोड रुपैयाँ बराबरको संस्थागत सेयर लगानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो लगानी विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैङ्क, एशियाली पूर्वाधार लगानी बैङ्क, सार्क विकास कोष र अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैङ्कमा गरिएको हो ।

पहिला यस्ता लगानीका लागि स्पष्ट कानुनी तथा नीतिगत व्यवस्था थिएन । तर, अब सरकारले ‘सेयर तथा लगानी नीति २०८१’ जारी गर्दै विदेशी लगानीलाई कानुनी रूप दिन थालेको छ । यो नीतिअनुसार सरकारले राष्ट्रिय प्राथमिकताका उद्यम, द्विपक्षीय तथा क्षेत्रीय सम्झौताअन्तर्गतका निकाय र अन्तरसरकारी बहुराष्ट्रिय संस्थामा मात्र सेयर वा ऋण लगानी गर्नेछ ।
सरकारले व्यक्तिलाई सिधा ऋण नदिने र धितोपत्र बजारका उपकरणहरूमा पनि लगानी नगर्ने नीति लिएको छ । हालसम्म विभिन्न मन्त्रालयमा रहेको सेयर स्वामित्व अब अर्थ मन्त्रालयमा एकीकृत गरिएको छ ।