काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्षको चैत मसान्तसम्म लिएको कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो ऋण कुल गार्हस्थ उत्पादन (जिडिपी)को ४६.७५ प्रतिशत बराबर हो ।

सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण १३ खर्ब १ अर्ब ७४ करोड रुपैयाँ छ । चैत मसान्तसम्ममा सरकारले आन्तरिक र बाह्य स्रोतबाट गरी जम्मा ३ खर्ब ६६ अर्ब ९ करोड रुपैयाँ ऋण उठाएको छ ।
आन्तरिक स्रोतबाट २ खर्ब ९१ अर्ब १४ करोड र बाह्य स्रोतबाट ७४ अर्ब ९५ करोड रुपैयाँ ऋण लिइएको हो । समग्रमा, चालु आर्थिक वर्षको कुल ऋण उठाउने वार्षिक लक्ष्य ५ खर्ब ४७ अर्ब रुपैयाँमध्ये ६६.९३ प्रतिशतमात्रै पूरा भएको देखिन्छ ।
ऋण उठाउने लक्ष्यअनुसार आन्तरिक ऋणको लक्ष्य ३ खर्ब रुपैयाँ थियो । यसमध्ये ८८.२२ प्रतिशत अर्थात २ खर्ब ९१ अर्ब १४ करोड उठाइएको छ । तर, २ खर्ब १७ अर्ब रुपैयाँको लक्ष्यसहितको बाह्य ऋणमा भने ३४.५४ प्रतिशत मात्रै उठ्न सकेको छ ।
त्यस्तै, ऋणको सेवा खर्च पनि ठूलो रकममा पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को लागि ऋण सेवा खर्चको वार्षिक बजेट ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ तोकिएको छ । चैत मसान्तसम्म २ खर्ब ५२ अर्ब ४८ करोड खर्च भइसकेको छ, जुन वार्षिक लक्ष्यको ६२.६७ प्रतिशत हो ।
आन्तरिक ऋण भुक्तानीमा मात्रै २ खर्ब १२ अर्ब ९३ करोड रुपैयाँ खर्च भएको छ भने बाह्य ऋण भुक्तानीतर्फ ३९ अर्ब ५५ करोड खर्च भइसकेको छ ।
त्यस्तै, ब्याज भुक्तानीका लागि छुट्याइएको कुल बजेट १ खर्ब ३ अर्ब १२ करोड रुपैयाँमध्ये ४९ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको तथ्यांकमा उल्लेख छ । जसले ब्याज भुक्तानीसमेत अब राज्यको वित्तीय दायित्वमा उल्लेख्य हिस्सा ओगट्ने देखिन्छ ।