
काठमाडौं । सिरहाकी आनन्दीदेवी सदाय मृत्यु घटनामा प्रहरीले समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेर यौन दुव्र्यवहार पश्चात मृत फेला परेकी नवराजपुर गाउँपालिका–३ दोनवारी टोलकी आनन्दीदेवीको घटनाबारे अनुसन्धान अघि बढाएको हो ।
बुधबार नै समिति गठन गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मेडिकल रिपोर्टहरू आएपछि जतिसक्दो चाँडो अनुसन्धान टुंग्याएर प्रतिवेदन बुझाउन समितिलाई जिम्मेबारी दिइएको छ ।
गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले पुस ९ गते बलात्कार प्रयास गरेपछि भाग्न सफल भएकी आनन्दी गत मंगलबार दिउँसो आफ्नै माइतीघरमा मृत फेला परेकी थिइन् । उनले न्याय पाउन घटनाकै दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दिएपनि प्रहरीको आलटालले न्याय पाउन सकेकी थिइनन् ।
मृतककी आमा बिल्टौनदेवी सदायका अनुसार गाउँमै आरोपित पक्ष र प्रहरीले पनि पीडितलाई गाउँमै मिल्न दबाब दिएको थियो । २५ फागुन २५ मा मात्र प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान बढाएपनि घटनामा संलग्न युवकहरू फरार छन् ।