
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आफ्नो ६ वर्षे कार्यकाल पूरा गरी पदबाट बिदा भएका छन् । २०७६ वैशाख ६ मा प्रमुख आयुक्त नियुक्त भएका थपलिया आजकै मितिमा आयोगबाट बिदा भएका हुन् ।
बिदाइका अवसरमा आयोगमा आयोजित विशेष कार्यक्रममा आयुक्तहरू रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, सचिव भरतमणि सुवेदी लगायत आयोगका कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा थपलियालाई पुष्पगुच्छा र मायाको चिनो प्रदान गरिएको थियो ।
थपलियाले बिदाइ मन्तव्यमा आफ्नो कार्यकाललाई लोकतन्त्र सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारतर्फ केन्द्रित रहेको बताए । उनले प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तह, राष्ट्रपतिको निर्वाचनलगायत विभिन्न उपनिर्वाचनहरू सफलतापूर्वक सम्पन्न गरी जनमतको अभिव्यक्तिलाई सम्मान गरिएको उल्लेख गरे ।
नेपालको निर्वाचन प्रणाली समयसँगै परिपक्व हुँदै गएको उल्लेख गर्दै उनले आयोगको भूमिकालाई संविधान र कानुनअनुसार इमानदारीपूर्वक निर्वाह गरेको बताए। यस क्रममा सहकार्य गर्ने सबैप्रति उनले आभार व्यक्त गरे । थपलियाको बिदाइसँगै प्रमुख निर्वाचन आयुक्त पद हाल रिक्त भएको छ ।