
काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी थप एक जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको सीआईबी टोलीले गएराति कोटेश्वरको महादेवस्थानबाट सन्तोष राजावादी भनेर चिनिने ३४ वर्षीय सन्तोष कुमार सिलवाललाई पक्राउ गरेको हो । तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न तम्सिनेमा उनी पनि एक थिए ।
राजावादीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । त्यसक्रममा भएको आगजनी र प्रहरीको गोली प्रहारबाट दुई जनाको मृत्यु भएको थियो । साथै पार्टी कार्यालय, सपिङ कम्प्लेक्स र अन्य सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
तोडफोड र आगजनीमा संलग्नहरुलाई खोज्ने क्रममा प्रहरीले सन्तोष सिलवाललाई पनि निगरानीमा राखेको थियो । सोही क्रममा सीआईबी टोलीले उनलाई कोटेश्वरको महादेवस्थानस्थित आफन्तको घरबाट नियन्त्रणमा लिएको होे ।














