
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीले आन्दोलनरत शिक्षकको रमिता बढी भएको टिप्पणी गरेकी छिन् ।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले विधेयक पास गर्ने निश्चित विधि र प्रक्रिया भएको स्मरण गराउँदै कसैसँग पनि वार्ता नगर्ने र सडकबाटै ऐन माग्ने शिक्षकहरूको प्रवृत्ति सही नभएको बताएकी हुन् ।
‘सडकबाट ऐन पास हुने हो ? विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुँदैन ? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री र नेताहरुले सडकबाटै ऐन पास गरिदिनुहुने रहेछ ?’ उनले प्रश्न गरेकी छन् ।
नेतृ झाक्रीले निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेको भन्दै सरकारी विद्यालयहरुको रिजल्ट शून्य रहेको आरोपसमेत लगाएकी छन् । ‘राज्यको तलब खाएका शिक्षक कर्मचारीले भर्नाको वेला विद्यालय बन्द गरेर लाखौ विद्यार्थीको भविष्य अन्योल बनाउन मिल्छ ?’ उनको प्रश्न छ।














