
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सिन्धुपाल्चोकको तातोपानी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन् । शुक्रबार सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री राणाले नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी हुन् ।
वार्षिक रु २२ अर्बभन्दा बढी राजस्व उठ्ने लक्ष्य लिइएको उक्त नाका तथा भन्सार कार्यालयको मन्त्री राणाका साथै कांग्रेस सांसद मोहन बहादुर बस्नेतसहितको टोलीले निरीक्षण गरेको हो ।
राणाले पर्यटन प्रवर्धनका हिसाबले पनि महत्वपूर्ण रहेको नाकाबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोबारका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्ने बताइन् । उनले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौँ कोदारी राजमार्गका साथै यस तातोपानी नाकासँग जोडिएका अन्य सडकहरुको पनि स्तरोन्नति गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाइन् ।
यस विषयमा मन्त्री राणाले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालाहरुसँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि गरेकी थिइन् ।














