Logo
Logo

राप्रपाले भोलि बिजुलीबजारमा प्रदर्शन गर्ने


2k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि (आइतबार) काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने भएको छ । पार्टीले निषेधित क्षेत्र पार गर्दै सामूहिक गिरफ्तारी दिने रणनीतिसहित आन्दोलन चर्काउने तयारी गरेको छ ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार भोलिको प्रदर्शनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं सहभागी हुनेछन् । प्रदर्शन दिउँसो १२ बजेबाट सुरु हुने जनाइएको छ ।

यसअघि बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै सामूहिक गिरफ्तारी दिने निर्णय गरेको थियो ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै राप्रपा निरन्तर आन्दोलनमा उत्रिरहेको छ । सो घटनाको भोलिपल्ट अर्थात् १६ चैतदेखि नै देशभर आन्दोलनका कार्यक्रम सञ्चालन भइरहेको छ ।

२६ चैतमा बल्खुमा भएको सभामा राप्रपाले आफ्ना नेताहरूको रिहाइ तथा घटनाको छानबिनका लागि आयोग गठन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

केही दिन मौन बसेपछि राप्रपाले अब दोस्रो चरणको आन्दोलन सार्वजनिक गरेको छ । यस चरणको पहिलो दिन नै निषेधित क्षेत्र तोड्ने कार्यक्रम रहेको छ, जसले आन्दोलनलाई थप चर्काउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्