Logo
Logo

मौद्रिक नीति : समायानुकूल कार्यान्वयनमा जोड


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३ साउन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले कोरोनाका कारण समस्यामा परेको वित्तीय क्षेत्रलाई राहत दिने सरोकारवाला व्यक्तिहरुले बताएका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको नीतिलाई निजी क्षेत्रले स्वागत गर्दै व्यवहारिक कार्यान्वयनमा जोड दिएका हुन् ।
उनीहरुको भनाइ छ, ‘समग्रमा मौद्रिक नीति व्यवहारिक र समयसापेक्ष आएको छ, यसको प्रभावकारी कार्यान्वयनले मात्रै कोरोनाका कारण थलिएका मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ ।’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार आयोजना गरेको श्रव्यदृश्य अन्तक्र्रियाका सहभागीले मौद्रिक नीतिको खुलेर समर्थन गर्दै यसको वस्तुनिष्ठ कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।
पूर्वगर्भनर डा. दिपेन्द्रबहादुर क्षेत्रीले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई विश्वासमा लिएर केन्द्रीय बैंक अगाडि बढ्नुपर्ने बताए । कार्यान्वयनका क्रममा आइपर्ने जटिलतालाई समाधान गर्न नेपाल राष्ट्र बैंकमा संयन्त्र बनाउन उनले सुझाव दिए । बैंकर भोजबहादुर शाहले सरोकारवालाको अपेक्षाअनुकूल मौद्रिक नीति आएको बताए ।

नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले मौद्रिक नीति सन्तुलित, यथार्थपरक र जिम्मेवार ढंगबाट आएको बताए । आर्थिक पुनरुउत्थानका लागि नीतिले सघाउने, मुलुकको अर्थतन्त्रलाई स्वावलम्बन बनाउन र पूँजीबजारलाई गतिशील बनाउन पनि नीतिले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । सहुलितपूर्ण कर्जालाई दोब्बर पारेर जाने नेपाल बैंकको तयारी रहेको उनको भनाइ थियो ।
पूर्वबैंकर अनलराज भट्टराईले निजी क्षेत्रलाई थप उत्साहित बनाउने ढंगबाट मौद्रिक नीति आएको बताए । कोभिड–१९ का कारण व्यापार व्यवसाय प्रभावित हुँदा नगद प्रवाहमा देखिएको संकुचनलाई नीतिले सम्बोधन गरेको बताए । ‘नीतिमा कोभिडबाट थलिएको व्यापार व्यवसायलाई चलायमान बनाउनका लागि मौद्रिक उपकरणको प्रयोग गरिएको छ’, उनले भने, यसले वित्तीय सन्तुलन कायम राख्दै व्यापार व्यवसायलाई सहुलियत पनि दिएको छ ।’
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीतिलाई सकारात्मकरूपमा लिँदै निजी क्षेत्रको अधिकांश माग नीतिले सम्बोधन गरेको बताउनुभयो । नीतिले कोभिडबाट अतिकम, मध्यम र उच्च प्रभावित व्यवसायीलाई ठूलो राहत दिएको उनको भनाइ थियो । उनले भने, ‘आज निजी क्षेत्र उत्साहित छ, हामीले यसलाई सराहनीय मानेका छौँ । कोभिड–१९ प्रभावित अर्थतन्त्रका लागि रि–फाइनान्सिङसम्बन्धी कार्यविधि, निर्देशिकालाई सहज बनाउँदै व्यवसायीमैत्री बनाइनुपर्छ ।’
नेपाल उद्योग वाणिज्य महासंघको बैंक, वित्त तथा बीमा कमिटीका सभापति सौरभ ज्योतिले अहिलेको विषम परिस्थितिमा उद्योगी व्यवसायीलाई राहत दिने ढंगबाट मौद्रिक नीति आएको बताए । ‘यसले सबै निजी क्षेत्रको समस्याको समाधान गरेको छ’, उनले भने । अर्थतन्त्रलाई चलायमान बनाउन कोभिडबाट थलिएका लघु, साना तथा मझौला उद्यमीलाई सहुलियत पुर्नकर्जा उपलब्ध गराउनेतर्फ सरकारको ध्यान जानुपर्ने उनले बताए । उनले भने, ‘मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन गराउन अति आवश्यक छ ।’
उद्योग व्यवसाय बन्द गर्दा व्यवसायीलाई सहजीकरण गर्नुपर्नेमा त्यसतर्फ मौद्रिक नीतिले ध्यान दिन नसकेको भन्दै उहाँले एउटा व्यवसाय बन्द गरेर अर्को उद्योगमा लगानी गर्न सहज हुने नीति बनाइनुपर्ने बताए । उनले सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने यातायात क्षेत्रलाई मौद्रिक नीतिले समेट्न नसकेको भन्दै गुनासो गरेका थिए ।
बैंक तथा वित्त परिसंघका सभापति तथा उद्योगी पवन गोल्यानले कोभिडले थला परेको अर्थतन्त्रलाई उकास्ने गरी नीति ल्याइनु स्वागतयोग्य रहेको बताए । कुल कर्जाको करिब १५ प्रतिशत कृषि, १० प्रतिशत जलविद्युतमा लगानी गर्ने, सहुलियतपूर्ण कर्जालाई थप सहजीकरण गर्ने नीति सराहनीय रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्