Logo
Logo

दार्चुलामा फेरि भारतीय अतिक्रमण : नेपाली भूमिमै तटबन्ध निर्माण


945
Shares

काठमाडौं । भारतले पुनः दार्चुलाको नेपाली भूमि मिच्दै तटबन्ध निर्माण सुरु गरेको छ । जिल्ला सदरमुकाम खलङ्गाको गल्फैस्थित बसपार्क क्षेत्रमा भारतले व्यापक रूपमा निर्माण सामग्री र मेसिनरी प्रयोग गर्दै बाँध बनाइरहेको छ । त्यो पनि नेपालकै भूमि मिचेर ।

स्थानीय बासिन्दा भने आक्रोशित छन् । किनकि दैनिक रूपमा भारतीय डोजरहरू नेपाली भूमिमा सक्रिय रहे पनि स्थानीय प्रशासन र जनप्रतिनिधिहरू मौन बसिरहेका छन् । २०७० सालको बाढीपछि महाकाली नदीले धार परिवर्तन गर्दा पारी गएको लगभग ५० रोपनी नेपाली भूमिमा भारतले कब्जा जमाउँदै संरचना खडा गर्दै छ ।

उक्त भूमि नेपालको हो र नापी विभागको टोलीले विगतमा सो कुरा प्रमाणितसमेत गरिसकेको स्थानीयले दाबी छ । तर, अहिलेसम्म सो नापजाँचको प्रतिवेदन सार्वजनिक गरिएको छैन । यसले नेपाली सरकारी निकायको उदासीनता र कमजोरीलाई उजागर गर्छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार गृह मन्त्रालयलाई घटनाबारे आवश्यक रिपोर्टिङ गरिएको छ र भारतीय पक्षसँग लिखित र मौखिक रूपमा काम रोक्न अनुरोध गरिएको छ। तर भारतले ती आग्रहहरू बेवास्ता गर्दै उल्टै थप मेसिन र जनशक्ति प्रयोग गरेर निर्माण कार्यलाई तीव्र बनाइरहेको छ ।

सार्वभौमसत्ता सम्पन्न नेपालमा भारतले यसरी सीमा मिचेर संरचना बनाउनु अपमानजनक मात्र होइन, खतरनाक सङ्केत पनि हो । सरकारले तत्काल कूटनीतिक पहलमार्फत काम रोक्न माग गर्नुपर्छ । 

एकातिर, भारतले नेपालतर्फ तटीय क्षेत्रमा तटबन्ध निर्माण गर्न पटक–पटक अवरोध गर्दै आएको छ । अर्कातिर, आफूचाहिँ नेपाली भूमिमा पसेर अवैध रूपमा संरचना बनाइरहेको छ । केही महिना पहिले भारतीय डोजर महाकाली पार गरेर खलङ्गासम्म आइपुगेपछि समेत सरकारले पर्याप्त कदम चालेको देखिँदैन ।

यो घटनाले फेरि देखाएको छ । नेपाल–भारत सीमासम्बन्धी पुराना विवाद समाधान हुन नसक्दा भारतले नेपालको भूभागमा हस्तक्षेप गर्न मौका पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्