
काठमाडौं । गएराति प्रहरी हिरासतबाट रिहा भएका राप्रपाका महामन्त्री धवलशमशेर राणा भारत जाने भएका छन् । मुम्बईमा क्यान्सरको उपचार गराइरहेका राणा केही दिनमै फलोअप उपचारका लागि त्यसतर्फ जान लागेका हुन् ।
राप्रपा नेता जनकराज पाठकले राणा केही दिनमै फलोअपका लागि भारत जाने जानकारी दिए । केही महिनाअघि उनको गिजा क्यान्सरको उपचार भएको थियो भने त्यसको फलोअप निरन्तर गराइरहेका छन् ।
क्यान्सरको उपचारकै लागि भनेर प्रहरीले उनलाई गएराति रिहा गरेको थियो । चैत १५ गते तिनकुनेमा भएको राजावादी आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोप राणामाथि छ । उक्त दिन राजावादी प्रदर्शनकारीहरु उग्र बन्दा दुई जनाले ज्यान गुमाउनुपर्यो भने विभिन्न स्थानमा आगजनी तथा तोडफोडका घटना भएका थिए ।