Logo
Logo

मन्त्रीको बेडरुममै दलाल, कर्मचारी सरुवामा असुली रोकिएन


10.3k
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ऐन–नियमविपरीत कर्मचारी सरुवा गर्ने क्रम रोकिन सकेको छैन । सामान्य र भूमिब्यवस्था मन्त्रालयमा सरुवाको सूची दलालले बनाउने र मन्त्रीद्वय राजकुमार गुप्ता र बलराम अधिकारीले दामकाम बुझेपछि सदर हुँदैआएको छ । दलालले भूमिब्यवस्था र सामान्य प्रशासन मन्त्री नै आफू नै भएको जस्तो गरी कर्मचारीको सरुवा सूची बनाउने गरेका छन् ।

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्थामन्त्री बलराम अधिकारी

सामान्य प्रशासन मन्त्री गुप्ता र अधिकारीको निवासमै दलाल प्रमोद खड्काको दैनिक आउजाउ बाक्लो छ । गुप्ता र अधिकारी मन्त्री भएकै दिनदेखि दलाल खड्काले कर्मचारीसँग मोलतोल गर्ने, रकम असुल्ने र सरुवा गराउँदैआएका छन् । खड्काले काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरुमा कार्यरत २ बर्ष अवधि नपुगेका १८ कर्मचारीको सरुवा गराइसकेका छन् ।

नायबसुब्बा (नासु), कम्प्युटर अप्रेटरको ५ लाख, अधिकृतको १० लाख र उपसचिवको २० लाखसम्म लिएर उनले काठमाडौं उपत्यकाका मालपोत कार्यालयमा सरुवा गराउँदैआएका छन् । भूमिब्यवस्था मन्त्रालय अन्तर्गतका मालपोत कार्यालयका कर्मचारीसँग मोलतोल गर्ने, नदिए सामान्यबाट सरुवा गराउने काम दलालबाट हुँदैआएको छ ।

खड्काले मन्त्री बलराम अधिकारीको नाममा रकम माग गर्दा नदिने उपत्यकाका मालपोतका थप १५ नायबसुब्बा र अधिकृतको सरुवा सामान्य प्रशासन मन्त्रालयबाटै गर्ने चाँजोपाँजो उनले मिलाएका छन् ।
ती सरुवा गर्नुपर्ने कर्मचारीको सूचीसँगै टोकन मनीका रुपमा मन्त्री गुप्तालाई १५ लाख बुझाएको स्रोत बताउँछ । दलालसँग १५ लाख बुझेपछि मन्त्री गुप्ता शुक्रबारै अमेरिका उडेका छन् । मालपोतका कर्मचारीहरु मन्त्री बलराम अधिकारीभन्दा पनि दलाल खड्काप्रति बढी बफादार देखिने गरेका छन् ।

मालपोत कार्यालय कलंकीका प्रमुख मालपोत अधिकृत पूर्णबहादुर केसी र मालपोत कार्यालय साँखुका प्रमुख खड्का मन्त्रीसँग होइन, तिनै दलालसँग प्रायः भेटिन्छन् । कलंकी र साँखु मालपोतका केसी र खड्कालाई तिनै दलालले दररेट कबोल गरी सरुवा गराएका थिए ।

आफैंले १ बर्षअघि घुस दिएर भूमिब्यवस्था मन्त्री अधिकारीमार्फत् सरुवा गराएका केही कर्मचारीको नाम समेत उनले पुनः थप रकम माग्दा नदिएपछि सामान्य प्रशासन मन्त्रालयमा बुझाएको स्रोतको दाबी छ । हालसालैमात्र दलाल खड्काले काठमाडौं बाहिरबाट १८ जनालाई दररेट तोकेर उपत्यकाका मालपोतमा कामकाज गर्नेगरी ल्याएका छन् । तिनलाई सामान्य प्रशासन मन्त्रालयमा सेटिङ गरी दरबन्दी कायम गराउनेगरी उनले कामकाज गर्नेगरी भित्र्याएका हुन् ।

भूमि ब्यवस्थापन तथा अभिलेख बिभागका महानिर्देशक शिव रेग्मी र उपसचिव(निर्देशक) टेकराज अर्यालले समेत कामकाज गर्नेगरी ल्याउने सेटिङमा खड्कालाई साथ दिंदै आएका छन् । प्रशासनिक सुधारतिर भन्दा अर्याल र रेग्मीको ध्यान सरुवामा दाम कति आउँछ भन्नेतिर मात्र केन्द्रित छ । बिभागमै दलालसँग अर्याल र रेग्मीले हाक्काहाक्की सरुवाको मोलमोलाई गर्ने गरेका छन् ।

उपसचिव अर्याल कलंकी मालपोत कार्यालयको प्रमुख हुँदा नै बदनाम भएकाले तत्कालीन भूमिब्यवस्था मन्त्रालयका सचिव गोकर्णमणि दवाडीले हाजिर भएको २ दिनमै उनलाई हटाउनुपरेको थियो । त्यसपछि मन्त्रालयमा आएका उनी त्यहाँ पनि विवादमा परेपछि बिभागमा गए । बिभागमा समेत दलालको सेटिङमै सरुवा गर्ने र डीजी रेग्मीलाई समेत विवादमा पारेका छन् । खड्काले अर्यालमार्फत् नै डीजीसँग समेत लेनदेन गरी कामकाज गर्नेगरी खरिदार नासुहरुको सरुवा गराउँदैआएका छन् ।

दलालसँग बिभागमै डीजी र अर्यालले मोलतोल गरी अनियमित सरुवा गर्दा पनि अख्तियार जस्ता निकायले निगरानी गरी रोक्नसकेको छैन ।

भूमि ब्यवस्थापन बिभागमा मात्र होइन, सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा समेत दलालको सेटिङ हुने गरेको छ । सामान्यको कर्मचारी प्रशासन शाखाका उपसचिव कमल भट्टराईसँग प्रमोद खड्काको दिनहुँ उठबस हुने गरेको छ । मन्त्री गुप्तासँग मात्र सेटिङ हुँदा ऐन नियम बिपरीतका सरुवा गराउन असहज भएपछि दलालले उपसचिव भट्टराईलाई समेत सेटिङ गरी सरुवा गराउन थालेका छन् ।

त्यसो त भक्तपुर मालपोत कार्यालयका नायबसुब्बाहरु डम्बर कार्की, डम्बर कटुवाल, पुरुषोत्तम नेपाल प्रमोद खड्काका एजेन्टकै रुपमा कर्मचारीहरुको सरुवामा मोलतोल गर्न परिचालित हुने गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्