Logo
Logo

फाइनान्स कम्पनीहरूको खराब कर्जामा सुधार देखिएन


1.7k
Shares

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ग वर्गका १५ वटा फाइनान्स कम्पनीमध्ये १० कम्पनीले नाफा कमाएका छन् । अन्य पाँच कम्पनी भने अझै पनि नोक्सानमा नै छन् । अघिल्लो वर्ष सोही अवधिमा ८ कम्पनी नोक्सानीमा रहेका थिए, जुन अहिले घटेर पाँचमा झरेको देखिए पनि फाइनान्स कम्पनीहरूको संरचनात्मक कमजोरी अझै समाधान भएको छैन ।

सबै कम्पनीको समग्र नाफा हेर्दा भने यस वर्ष उल्लेखनीय सुधार भएको देखिन्छ । अघिल्लो वर्षको तेस्रो त्रैमासमा ३७ करोड रुपैयाँ ऋणात्मक नाफा देखिएको थियो भने यस वर्ष १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा भएको छ ।

तर, यो नाफा वृद्धिसँगै समस्याको घेरा भने उस्तै छ । बढ्दो निष्क्रिय कर्जा(एनपिएल) हाल ७ वटा कम्पनीको निष्क्रिय कर्जा १० प्रतिशतभन्दा माथि पुगेको छ भने दुई कम्पनीको स्थिति अत्यन्तै खराब छ, जसको (एनपिएल) ३० प्रतिशतभन्दा बढी छ । यो आँकडाले फाइनान्स कम्पनीहरूको जोखिम व्यवस्थापन प्रणाली गम्भीर सङ्कटमा रहेको देखाउँछ । 

सबैभन्दा धेरै नाफा कमाउनेमा आईसीएफसी फाइनान्स रहेको छ । उसले साउनदेखि चैत मसान्तसम्म १९ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ र प्रतिसेयर आम्दानी (इपिस) २१ रुपैयाँ ९८ पैसा रहेको छ । तर, अर्कोतर्फ जानकी फाइनान्सले १७ करोड ४७ लाख रुपैयाँको भारी नोक्सानी बेहोरेको छ र यसको इपिएस ऋणात्मक २०.७७ रुपैयाँमा पुगेको छ ।

यो त्रैमासमा प्रोग्रेसिभ फाइनान्सको सुधार सबैभन्दा उल्लेखनीय छ । अघिल्लो वर्ष ५ करोड ४९ लाख नोक्सानमा रहेको कम्पनीले यस वर्ष सोही अवधिमा ९ करोड ४ लाख नाफा कमाएको छ । साथै, यसको निष्क्रिय कर्जा पनि ९.।३४ प्रतिशतबाट घटाएर ७.१५ प्रतिशतमा ल्याइएको छ ।

तर, जानकी, गोर्खाज, बेस्ट, समृद्धि र रिलायन्स फाइनान्स जस्ता कम्पनीहरूमा नाफा नहुनुका साथै इपिएस समेत ऋणात्मक छ, जसले लगानीकर्तामा शङ्का र असन्तोष बढाएको छ ।

नाफाको आँकडा देखाउँदै राम्रो देखिए पनि खराब कर्जाको अवस्था र जोखिम सूचकहरूलाई बेवास्ता गर्नु नियामक निकाय र लगानीकर्ताहरू दुवैका लागि खतराको सङ्केत हो । फाइनान्स कम्पनीहरूले नाफामुखी सोच मात्र होइन, सन्तुलित वित्तीय अनुशासनमा पनि ध्यान दिन आवश्यक देखिएको छ ।

खराब कर्जा एनपिएल सुधार गर्न नसक्दा कम्पनीहरूले ऋणबाट ब्याज आम्दानी लिन सहिरहेका छैनन् । यसले कम्पनीको नगद प्रवाह घटाएको छ । जसले सञ्चालन खर्च र अन्य दायित्वहरू पुरा गर्न कठिन बन्दै गएको छ । 

खराब कर्जाको कारण ब्याज आम्दानी घट्दा कम्पनीको कुल नाफामा कमी आउँछ । लगातार खराब कर्जा बढ्दै जाँदा लगानीकर्ताहरूको विश्वास पनि घट्दै गएको छ । जसले बजारमा अहिले सेयर मूल्य घटेको छ । फाइनान्स कम्पनीको वित्तीय स्थिति कमजोर हुँदा नयाँ ऋणीहरूलाई ऋण दिन पनि सकिरहेका छैनन् । जसले गर्दा अहिलेको अवस्थामा नेपालमा लगानीको वातावरणमा असर परिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्