
काठमाडौं, ४ साउन । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते बस्ने गरी स्थगित भएको हो ।
नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालद्वारा जारी विज्ञप्तिमा बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिइएको छ ।
आजै नेकपाका पाँच सचिवालय सदस्य प्रचण्डनिवास खुमलटारमा छलफलमा जुटेका छन् । छलफलमा केही स्थायी समितिका नेताहरूसमेत सहभागी छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन् । त्यस्तै, छलफलमा भीम रावल, रघुजी पन्त, वर्षमान पुन, जनार्दन शर्मा, गोकर्ण विष्ट, मात्रिका यावद लगायतका स्थायी समिति सदस्यहरूको उपस्थित रहेको प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच भएको छलफलकाबारे समीक्षा गर्न उनीहरु जुटेको एक नेताले बताए ।
शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आत्मआलोचना गरी अहिले कुनै विवाद नगर्न र जतिसक्दो छिटो महाधिवेशन गएर सबै छिनोफनो गर्ने प्रस्ताव गरेका थिए । सचिवालय बैठक अगाडि शनिबार दिउँसो दुई अध्यक्षबीच छलफल भएको थियो । खुमलटारमा जुटेका नेताहरूबीच यी सबै विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ ।











