
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज सुनुवाइ गरिँदै छ ।
सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा राखिएका लामिछानेले आफूलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै रिहाइ गरिनुपर्ने माग गरी श्रीमती निकिता पौडेलमार्फत आइतबार प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।
उक्त निवेदनको प्रारम्भिक सुनुवाइ गर्न न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा पेसी तोकिएको छ । यसअघि सोमबार न्यायाधीश हरि फुयाँलको इजलासमा पेसी तोकिएपछि उनले नहेर्ने बताएपछि सुनुवाइ हेर्न नमिल्नेमा राखिएको थियो ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो । उनी माघ १४ गते १ करोड धरौटी बुझाएर रिहा भएका थिए । तर, उक्त आदेश चित्त नबुझाउँदै उनी साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च गएका थिए ।
तर, उच्च अदालतले लामिछानेको बयान पत्यार लाग्दो नभएको भन्दै धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गरेपछि उनी पक्राउ परेर हाल रुपन्देही प्रहरीको हिरासतमा छन् ।











