काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले पृथ्वी दिवसको अवसर पारेर उद्योग तथा व्यवसायिक भवनहरूमा सौर्य ऊर्जा प्रणाली जडानलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘रुफटप सोलार कर्जा योजना’ सार्वजनिक गरेको छ ।

नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युतमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षालाई बलियो बनाउने र समग्र ऊर्जा खपत कम गर्दै वातावरणीय असर न्यूनीकरण गर्ने उद्देश्यले यो योजना ल्याइएको बैङ्कले जनाएको छ । उक्त योजनाबाट होटल, अस्पताल, कोल्ड स्टोर, हाउजिङ कम्पनी, व्यापारिक भवन र शैक्षिक संस्थाहरूजस्ता उत्पादनमुखी उद्योग तथा व्यवसायहरू प्रत्यक्ष लाभान्वित हुनेछन् ।
ग्लोबल आइएमई बैङ्कले वातावरणप्रति जिम्मेवार रहँदै दिगोपनको दिशामा अग्रसर हुने लक्ष्यसहित यो सोलार कर्जा योजना अघि सारेको जनाएको छ ।
बैङ्कले हालै ग्लोबल फाइनान्सको ‘बेष्ट बैङ्क अवार्ड २०२४’ र युरो मनीको ‘अवार्ड फर एक्सलेन्स २०२४’ मार्फत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैङ्कको मान्यता प्राप्त गरेको छ । साथै बैङ्कले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायबाट समेत विभिन्न सम्मानहरू प्राप्त गर्दै आएको छ ।
देशभर ७७ वटै जिल्लामा सेवा विस्तार गरिसकेको ग्लोबल आइएमई बैङ्क निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । हाल बैङ्कसँग ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २२१ शाखारहित बैङ्किङ सेवा केन्द्र, ६७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रहरू छन् ।
बैङ्कले नेपालभित्र बैङ्किङ सेवा प्रदान गर्नुका साथै विश्वका प्रमुख देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेशिया, जापान, दक्षिण कोरिया, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स भित्र्याउने कार्यमा बैङ्कको सक्रियता रहेको छ ।














