Logo
Logo

पूर्णबहादुर तामाङमाथि महेश बस्नेतको गम्भीर आरोप : गभर्नर नियुक्तिमा २० करोडको डिल


5.2k
Shares

काठमाडौं । एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले हालै ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरिएका पूर्णबहादुर तामाङमाथि गम्भीर आर्थिक अनियमितताको आरोप लगाएका छन् ।

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत तामाङले नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिका लागि २० करोड रुपैयाँको ‘डिल’ गरेको प्रमाण भेटिएको दाबी गरेका छन् । उनका अनुसार, यही कारणले प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई पदमुक्त गरेको बताएका छन् । 

बस्नेतले लेखेका छन्, ‘ऊर्जा राज्यमन्त्री भएको आडमा तामाङले विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग मिलेर अर्बौँको ठेक्कापट्टामा मिलेमतो र अनियमितता गरेका छन् ।’

उनले तामाङमाथि भ्रष्टाचारमा संलग्नता मात्र होइन, कालोसूचीमा परेका २० भन्दा बढी योजनासँग प्रत्यक्ष सम्बन्ध रहेको आरोप पनि लगाएका छन्। ‘काम नगरी ठेक्का सेटिङ गर्ने र योजनालाई अलपत्र पार्ने तामाङ ठेकेदार कान्छारामका रूपमा चिनिन्छन्,’ बस्नेतले भने।

बस्नेतले हाल मिडियामा प्रधानमन्त्रीविरुद्ध टिप्पणी गरिरहेको भन्दै तामाङलाई ‘जो चोर, उसकै ठुलो स्वर’ शैलीमा नौटङ्की गर्ने आरोप लगाएका छन् ।

उनले थप लेखेका छन्, ‘अब समय आएको छ—भ्रष्ट र बेइमानहरूको पर्दाफास गरौँ। इमानदार नेतृत्व र युवा पुनर्निर्माणको लागि प्रधानमन्त्रीले चालेको कदमको समर्थन गरौँ।’

पूर्णबहादुर तामाङ केही दिनअघि मात्र ऊर्जा राज्यमन्त्री पदबाट बर्खास्त भएका थिए । उनको बर्खास्ती पछाडि आन्तरिक शक्ति सङ्घर्ष, अनियमितता र नियुक्तिमा भएको कथित आर्थिक चलखेललाई कारण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्