काठमाडौं । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानी टोलीले सेमिफाइनलमा स्थान बनाएको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रवार भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३-१ को सेटले पराजित गर्दै इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो सेट १४-२५ ले गुमाएको गण्डकीले दोस्रो सेट पुनरागमन गर्दै २५-१७ को जित निकालेको थियो । तर, तेस्रो र चौथो सेटमा लय गुमाउन पुग्दा गण्डकीले हार बेहोर्नुप¥यो । इरानी टोलीले तेस्रो सेट २५-१८ र चौथो सेट २७-२५ ले आफ्नो पक्षमा पार्यो ।
इरानी टोलीले यसअघि शसस्त्र प्रहरी बल (एपीएफ) लाई ३-१ को सेटले पराजित गरेको थियो । समूह ‘ए’ अन्तर्गत अन्तिम खेल गण्डकी प्रदेश र एपिएफबीच हुनेछ । उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । आजको दोस्रो खेल समूह ‘बी’ अन्तर्गत भारतीय टोली र त्रिभुवन आर्मी क्लबबीच हुँदै छ ।