काठमाडौं । भारतको कर्नाटकमा सम्पन्न त्रिकोणीय अन्तर्राष्ट्रिय डजबल प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिता जनाउँदै प्रभावशाली प्रदर्शनसहित कास्य पदक हात पारेको छ । अप्रिल २५ देखि २७ सम्म आयोजित प्रतियोगितामा नेपाल, भारत र मलेसियाबीच प्रतिस्पर्धा भएको थियो ।

छोटो तयारी समय, सीमित स्रोत र अन्तर्राष्ट्रिय अनुभवको अभाव हुँदाहुँदै पनि नेपाली टोलीले साहसिक र आत्मविश्वासी खेल प्रस्तुत गर्दै सबैको ध्यान तानेको हो । भारतसँगको ३-१ को प्रतिस्पर्धात्मक हार र मलेसियन राइनोसविरुद्धको उत्कृष्ट प्रदर्शनमार्फत नेपाल तृतीय स्थान हात पारेको हो ।
एसियन डजबल महासंघका महासचिव दासा सुब्रमन्यमले नेपालबाट पहिलो पटक सहभागिता हुनु र त्यसमा पनि प्रभावशाली प्रदर्शन देखाउनु गौरवको विषय भएको बताए । उनले नेपालले देखाएको प्रदर्शनबाट निकै प्रभावित भएको र नेपालमा डजबलको उज्ज्वल भविष्य रहेका बताए ।
यो उपलब्धिले नेपाली खेलकुदको क्षेत्रमा डजबल खेलप्रति उत्साह बढाउने र आगामी दिनमा अझ प्रभावकारी सहभागिताका लागि प्रेरणा बन्ने विश्वास गरिएको छ ।