
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका चर्चित अलराउन्डर कुशल मल्ल आईसीसी क्रिकेट विश्वकप लिग टूको तयारी क्याम्पबाट बाहिरिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले स्कटल्याण्डमा हुने आगामी लिग टू सिरिजको तयारी स्वरूप गठन गरिएको कोर क्याम्पका लागि सुरुमा ५३ खेलाडीको नाम घोषणा गरेको थियो। शनिवार सार्वजनिक गरिएको दोस्रो चरणको २५ खेलाडीको सूचीमा कुशल मल्लको नाम समावेश भएन ।
कुशलसँगै युवा ब्याट्सम्यान देव खनाल, कोर क्याम्पमै शतक प्रहार गरेका इशान पाण्डे, घरेलु तथा उमेर समूह क्रिकेटमा निरन्तर राम्रो प्रदर्शन गर्दै आएका अर्जुन कुमाल, तथा मिडियम पेसर कमलसिंह ऐरी पनि अन्तिम सूचीमा अटाउन सकेनन् ।
यस चरणमा २८ खेलाडी क्याम्पबाट बाहिरिएका छन् । दूसरी चरणको २५ सदस्यीय सूचीमा युवा स्पीनर युवराज खत्रीले स्थान सुरक्षित गरेका छन् । यू-१९ विश्वकप छनोटमा प्रभावशाली प्रदर्शन गरेपछि कोर क्याम्पमा समावेश भएका युवराज दोस्रो चरणसम्म आइपुग्दा पनि छनोटमा टिक्न सफल भएका हुन् ।
राष्ट्रिय टिमबाट अझै खेल्न नपाएका शुभ कंसाकार, रुपेश कुमार सिंह, किरण ठगुन्ना र युवराज खत्रीले पनि २५ सदस्यीय टोलीमा स्थान बनाएका छन् ।
नेपालले आउँदो जुनमा स्कटल्याण्डमा नेदरल्याण्ड र घरेलु टिम स्कटल्याण्डसँग लिग टूको सिरिज खेल्नेछ। त्यसको तयारी स्वरूप नेपाली टिमले यसै मे महिनामा युके भ्रमण गर्नेछ। भ्रमणका क्रममा नेपालले एमसीसीसहित चार क्लब टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने त्यसपछि स्कटल्याण्ड ‘ए’टोलीसँग दुई अभ्यास खेल खेल्ने तालिका रहेको छ ।