Logo
Logo

सरकारलाई देउवाको ध्यानाकर्षण : कोरोना र बाढीपहिरोको सामाना गर्न विशेष रणनीति निर्माण गर्न आग्रह


- दृष्टि न्युज/संवाददाता

0
Shares

File Photo

काठमाडौं, ८ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलिसँग भेट गरेर कोरोनाभाइरस संक्रमण र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराएका छन् ।
बन्दाबन्दीका बाबजुद संक्रमितको संख्या २० हजार पुग्न लागेको र तीन दर्जनभन्दा बढीको मृत्यु भएको स्थितिमा बन्दाबन्दी खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सभापति देउवाले आग्रह र माग गरेका छन् । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले कोरोना परीक्षण पिसिआर प्रविधिबाट मात्रै गर्न आग्रह गर्दै, क्वारेन्टिनहरु अझैपनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएको भन्दै आपत्ति प्रकट गरेका थिए ।
सभापति देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीव्रता दिन र बाढी तथा पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंँको मृत्यु, कयौं बेपत्ता र सयौँ घरबारविहीन भएको हुँदा युद्धस्तरमा कार्य गर्न सरकारलाई आग्रह गरेका छन् ।
कोरोना सृजित चुनौतीका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनले अघि सारेका जायज मागलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मुख्य सचिव पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्