Logo
Logo

केआईआईटी विश्वविद्यालयमा एनओसी बन्द गर्न माग


504
Shares

काठमाडौं । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको सुरक्षा गम्भीर विषय बनेको छ । विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह मृत फेला परेपछि राष्ट्रिय सभाका सांसदहरूले उक्त विश्वविद्यालयमा अध्ययनका लागि दिइने वैदेशिक अध्ययन अनुमति (एनओसी) रोक्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसदहरूले प्रिसा साहको मृत्युप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारले तुरुन्त कदम चाल्नुपर्नेमा जोड दिएका हुन् ।

केआईआईटी विश्वविद्यालयमै यसअघि पनि प्रकृति लम्साल नामकी विद्यार्थी मृत फेला परेकी थिइन् । चार महिनाको अन्तरमै दोहोरिएको यस्तो घटनाले सांसदहरूलाई आक्रोशित बनाएको छ ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले उक्त विश्वविद्यालयमा अध्ययनका लागि अब एनओसी नदिइनुपर्ने माग गरे। ‘केआईआईटी विश्वविद्यालयमा एनओसी बन्द गरियोस्,’ उनले भने।

नेकपा ९एकीकृत समाजवादी० की सांसद मदन कुमारी शाहले विश्वविद्यालयमा कुनै न कुनै समस्या रहेको बताउँदै विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति नभएको स्थानमा सरकारले विद्यार्थी पठाउनु नहुने बताइन्। ‘अनुभूति र प्रत्याभूति दुवै नभएको ठाउँमा पठाउनु हुँदैन,’ उनले भनिन्।

शाहले नेपाली अभिभावकहरूलाई पनि आफ्ना सन्तानलाई सो विश्वविद्यालयमा नपठाउन अपिल गरेकी छन् । ‘किट विश्वविद्यालयमा आफ्ना छोराछोरी नपठाउन म यही सभामार्फत अनुरोध गर्न चाहन्छु,’ उनले भनिन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद शेखर कुमार सिंहले चार महिनामा दुई विद्यार्थीको मृत्यु भएको विषय गम्भीर भएको भन्दै सरकारलाई तुरुन्त सजग भएर नीति बनाउनु पर्ने बताए ।

राष्ट्रिय सभाका सभाध्यक्ष नारायण दाहालले पनि घटनाप्रति सभाको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले भारत र नेपाल दुवै सरकारले यस्ता घटनाको पुनरावृत्ति रोक्न तत्काल पहल गर्नुपर्नेमा जोड दिएका छन् । ‘एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अत्यन्त दुःखद पक्ष हो,’ दाहालले भने।

सभाले निष्पक्ष छानबिन गर्न र भविष्यमा यस्ता घटनाबाट विद्यार्थीहरूलाई जोगाउन ठोस कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्