काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी संसदीय उपसमितिमा बस्न अस्वीकार गरेका छन् । उनले विगतमा आफू सो मन्त्रालयको जिम्मेवारीमा रहेकाले अध्ययनमा निष्पक्षता नआउने भन्दै समितिमा नरहने निर्णय लिएका हुन् ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा बोल्दै भट्टराईले आफ्नो संयोजकत्वमा बनेको प्रारम्भिक प्रतिवेदन अन्तिम चरणमा पुगेको जनाउँदै नयाँ संयोजकले त्यसमा अघि बढाउन सक्ने बताए । उनले भने, ‘हामीलाई जे टिओआर दिइएको थियो, त्यसका आधारमा प्रतिवेदन लगभग अन्तिम भएको छ । अब नयाँ संयोजकको मोडलअनुसार छलफल होस्, मलाई आपत्ति छैन।’
सांसद भट्टराई संयोजक रहेको उपसमिति गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुगमनका लागि गठन गरिएको थियो । तर, भट्टराईले ‘हितको टकराव’ हुने भन्दै अब उपसमितिमा नबस्ने घोषणा गरेका हुन् ।
यसअघि, १४ असारमा सार्वजनिक लेखा समितिले पोखरा र भैरहवा विमानस्थलबारे छुट्टाछुट्टै अध्ययन उपसमिति गठन गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी उपसमितिको संयोजक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा_ अध्यक्ष राजेन्द्र लिङ्देन रहेका थिए, जसले आफ्नो प्रतिवेदन समितिमा बुझाइसकेका छन् ।
भैरहवा उपसमितिमा हाल सांसद अमरेशकुमार सिंह, मनिष झा, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँड र सराज अहमद फारुकी सदस्य छन्।














