काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले ओरालो लागेको छ । बजार आइतबार ३.४४ अङ्कले ओराले लागेको हो । आज बजारमा ९ अर्ब २४ करोडको कारोड बराबरको सेयर किनबेच भएका छन् । आजको गिरावटपछि बजार २६२० को बिन्दुमा पूगेको छ ।

बजारमा आइतबार हाइड्रोपावर कम्पनीहरूको अधिक कारोबार भएको छ । आइतबार करिब ५९ प्रतिशत हिस्सा यहीँ एउटा सेक्टरले ओगट्यो ।
५ अर्ब ४४ करोड ९४ लाख रुपैयाँको सेयर हाइड्रोपावर कम्पनीहरूको मात्रै कारोबार भयो । कुल कारोबारमा यो ५८.९ प्रतिशत हो । उच्च कारोबारका बाबजुद यो सेक्टर आज ०.०९ प्रतिशत घट्यो ।
हाइड्रोपावरका अलवा फाइनान्स १.३०, लगानी ०.८६, जीवन बीमा ०.२८, माइक्रोफाइनान्स ०.२५, व्यापार ०.८४ तथा अन्य ०.०२ प्रतिशत घटे । बैङ्किङ ०.१०, विकास बैङ्क ०.०६, होटल तथा पर्यटन ०.०४, उत्पादन ०.६२ तथा निर्जीवन बीमा ०.२३ प्रतिशत बढे ।
नेपाल माइक्रोइन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढेको छ । यीमध्ये ओम मेगाश्री आजैदेखि कारोबारमा आएको हो । जसको मूल्य प्रतिकित्ता २९७ रुपैयाँ पुगेको छ ।
त्यस्तै अपरसोलु हाइड्रो इलेक्ट्रिकको ९.८४, तथा सपोर्ट माइक्रोफाइनान्सको ९.०४ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । रिभरफल्स पावरको ७.५५ तथा भूगोल इनर्जीको ६.१५ प्रतिशत मूल्य घट्यो ।
रकमका आधारमा धेरै कारोबार भएका १० कम्पनीमध्ये ७ वटा हाइड्रोपावर नै रहे । धेरै कारोबार भएका १० कम्पनीमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर, एचआईडीसीएल प्रमोटर, सिनर्जी पावर, हिमालयन पावर पार्टनर, अरुणभ्याली हाइड्रोपावर र एचआईडीसीएल छन् ।














