
काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ का ६० वर्षीय चुडामणि कँडेलले आफ्नै श्रीमतीको हत्या गराउन ‘सुपारी’ दिएका थिए । तर, योजना असफल भएपछि उनले दिएको पैसा नफर्काउने अभियुक्तहरूले उल्टै कँडेलकै हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, चैत २७ गते कँडेल आफ्नै घरको शौचालयमा घाँटी डोरीले कसिएको अवस्थामा मृत फेला परेका थिए । प्रारम्भिक रूपमा आत्महत्या आशङ्का गरिए पनि विस्तृत अनुसन्धानपछि हत्या गरिएको खुलेको हो ।
हत्या आरोपमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का अक्कल बहादुर प्रजा, पृथलाल थिङ र सञ्चलाल तामाङ पक्राउ परेका छन् । उनीहरूले कँडेलकी श्रीमती सुस्मिता सिलवालको हत्या गर्न चार लाख रुपैयाँ ‘सुपारी’ लिएको पाइएको हो ।
कँडेलले आफ्नो श्रीमतीको हत्या गराउन प्रजालाई चार लाख रुपैयाँ दिएका थिए । उक्त रकम जग्गा बिक्री गरेर दिएको खुलेको छ । रकम लिएपछि प्रजाले हत्या योजनामा पृथलाल र सञ्चलाललाई पनि समावेश गरेका थिए । तर, पटक–पटक प्रयास गर्दा पनि श्रीमतीको हत्या गर्न नसकेपछि कँडेलले पैसा फिर्ता माग्न थालेका थिए ।
प्रहरीका अनुसार अभियुक्तहरूले रकम खर्च भइसकेपछि कँडेललाई नै हटाउने योजना बनाएका थिए । त्यसअनुसार चैत २४ गते राति घरमै रहेका कँडेललाई कोदालोको बिँडले प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । प्रमाण नष्ट गर्न अभियुक्तहरूले कँडेलको घाँटीमा डोरी बाँधेर आत्महत्या देखाउने प्रयास गरेका थिए ।
घटनापछि अनुसन्धानका क्रममा अभियुक्त अक्कल बहादुर प्रजाको कोठाबाट एक लाख रुपैयाँ बरामद गरिएको छ । तीनै जनाले घटना पछि स्थानीय बजारबाट एउटै डिजाइनका जुत्ता किनेको भेटिएको छ ।
प्रहरीका अनुसार, सुस्मिता प्रायः सीतापाइलामा बस्ने गरेकी थिइन् र श्रीमान श्रीमतीबीच खासै बोलचाल हुँदैनथ्यो । घटना हुनुभन्दा दुई साता अघि उनी गाउँ आइपुगेकी थिइन् र घटनाको दिन बिहानै फर्किएकी थिइन् । यही कारण स्थानीयले उनलाई पनि अनुसन्धान गर्न सुझाव दिएका थिए ।
तर, अनुसन्धानको क्रममा श्रीमतीको होइन, श्रीमतीको हत्या योजना बनाउने श्रीमान्कै षड्यन्त्रको पर्दाफास भयो । अहिले सुस्मिता सिलवालले तीनै अभियुक्तविरुद्ध जाहेरी दिएकी छन् ।