Logo
Logo

केपी ओली ८ फेल भन्नेलाई राधिकाको जवाफ : सबैका गुरु केपी नै थिए


2k
Shares

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको शैक्षिक योग्यता नलागी गिज्याउनेहरूप्रति उनकी पत्नी राधिका शाक्यले आपत्ति जनाएकी छन् । धुलिखेलमा आयोजित आफ्नै आत्मकथा ८‘करुणा’८माथिको विमर्श कार्यक्रममा बोल्दै शाक्यले केपी ओलीको ज्ञान, बौद्धिकता र देशभक्तिप्रति अठोट कुनै डिग्रीले तोक्न नसक्ने बताइन् ।

‘मैले दुई विषयमा मास्टर्स गरेकी छु,’ शाक्यले भनिन्, ‘तर मेरो श्रीमान् केपी ओलीमा भएको विविध विषयको ज्ञानको अगाडि म केही पनि होइन ।’ उनले शिक्षक आन्दोलनको सन्दर्भ उल्लेख गर्दै केपी ओलीलाई ‘८ कक्षा फेल’ भनेर गिज्याउने प्रवृत्तिप्रति कटाक्ष गरिन् । 

शाक्यले ओलीले जेल जीवनको समयमा कैयौँ विषयमा आफ्ना सह बन्दीहरूलाई पढाएको स्मरण गर्दै भनिन्, ‘जेलमा भएका धेरैले प्रमाणपत्र लिएका छन्, तर ती सबैका गुरु केपी ओली नै थिए । उनले सबैलाई सिकाउनुहुन्थ्यो, प्रेरित गर्नुहुन्थ्यो।’ उनले ओलीले कहिल्यै सर्टिफिकेटको पछि नलागेर देश र जनताको सेवामा समर्पित रहेकाले नै प्रमाणपत्र लिने चाहना नरहेको पनि स्पष्ट गरिन् ।

‘उहाँको सोच सधैँ देश र जनतामै केन्द्रित रह्यो,’ शाक्यले भनिन्, ‘हाकिम बन्ने वा सुविधा भोग्ने उद्देश्य कहिल्यै उहाँको थिएन । जेलबाट छुटिन्छ कि छुटिन्न भन्ने अन्योलमै पनि उहाँले देशको चिन्ता गरिरहनुभयो ।’

सामाजिक सञ्जालमा ओलीप्रति बढ्दो आलोचना र व्यङ्ग्यप्रति पनि शाक्यले गुनासो जनाइन् । ‘आज सामाजिक सञ्जाल नकारात्मकताको भरमा चलिरहेको छ,’ उनले भनिन्, ‘त्यो नकारात्मकताको धेरै हिस्सा केपी सरप्रति लक्षित छ । तर गाली गरेर कसैलाई फाइदा हुँदैन ।’

गाली गरेर रमाउनेहरूले आफ्नै भविष्य अन्धकार बनाइरहेको शाक्यको ठम्याइ छ । ‘जो–जो उहाँलाई गिज्याएर रमाइरहेका छन्, उनीहरू आफ्नै खुट्टामा बन्चरो हानिरहेका छन्,’ उनले भनिन्, ‘त्यो प्रवृत्तिले उनीहरूको सन्तानको भविष्यसमेत बिगार्ने खतरा छ ।’

प्रतिक्रिया दिनुहोस्