काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मुलुक राजनीतिक स्थायित्वतर्फ अघि बढिरहेको निष्कर्ष निकालेको छ । पार्टीका अनुसार देशको स्थायित्व खलबल्याउन केही शक्ति सक्रिय भए पनि तिनको प्रयास कमजोर हुँदै गएको छ ।

आइतबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मुलुक नीति तथा राजनीतिक स्थायित्वको मार्गमा अघि बढिरहेको जानकारी दिए ।
‘विभिन्न शक्ति स्थायित्व खल्बल्याउने प्रयासमा क्रियाशील छन्,’ उपमहासचिव ज्ञवालीले भने, ‘तर ती प्रयासहरू कमजोर बन्दै गइरहेका छन्। मुलुक राजनीतिक स्थायित्वतर्फ गइरहेको बैठकको निष्कर्ष हो।’
बैठकमा आगामी निर्वाचनमा बहुमत हासिल गर्ने रणनीतिमा पार्टी केन्द्रित हुने निर्णयसमेत भएको छ । त्यसका लागि सम्पूर्ण ऊर्जा परिचालन गरिने एमालेले जनाएको छ । यस्तै, सरकारले आन्दोलनरत शिक्षकका माग सम्बोधन गरेपछि एमालेले सरकारलाई धन्यवादसमेत दिएको छ ।














