Logo
Logo

प्रिन्टिङ मेसिन खरिद प्रकरण : विकल पौडेललाई दुई वर्ष कैद र करोडौँ जरिवाना


1.8k
Shares

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल प्रिन्टिङ मेसिन खरिद प्रकरणमा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर भएका छन् । विशेष अदालतको इजलासले आइतबार उनलाई कैद र जरिवानासहितको सजाय सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेलसहित म्याक्स इन्टरनेसनल प्रालि र सो कम्पनीका सीईओ अकबर हुसेनलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोग अनुसार प्रिन्टिङ मेसिन खरिद प्रक्रियामा ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार भएको ठहर गरिएको छ । अदालतले तीनै दोषीबाट दामासाहीले उक्त रकम असुल्न आदेश दिएको छ ।

फैसला अनुसार विकल पौडेल, म्याक्स इन्टरनेसनल र सञ्चालक अकबर हुसेनबाट जनही १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना असुल गरिनेछ । साथै, अपराधपीडित संरक्षण ऐनबमोजिम जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने आदेश पनि दिइएको छ ।

सजायको क्रममा विकल पौडेललाई दुई वटा फरक कसुरमा दुई वर्ष कैद सुनाइएको छ भने कार्यकारी निर्देशकको भूमिकामा रहेको आधारमा थप ६ महिनाको कैद सजाय सुनाइएको छ । अकबर हुसेनलाई डेढ वर्ष कैद सजाय तोकिएको छ ।

यस प्रकरणमा संलग्न देखिएका अन्य पाँचजना – राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई नवीनकुमार पोखरेल, लेखा अधिकृत खड्कबहादुर थापा, र शाखा अधिकृत हरिबल्लभ घिमिरेलाई भने अदालतले सफाइ दिएको छ। उनीहरू खरिद प्रक्रियामा सहभागी देखिए पनि निर्णायक भूमिका नरहेको ठहर गरिएको हो । अख्तियारले यो प्रकरणमा अघिल्लो वर्षको ३० वैशाखमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्