काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिना दिन बित्दासमेत गभर्नर नियुक्त गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।
सोमबार सरकारको नीति तथा कार्यक्रमबारे बोल्न रोस्ट्रम उभिएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीतिर हेर्दै गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रश्न उठाएका हुन्।

‘महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्ति गर्न सक्नुभएको छैन । दुई तिहाइको अहंकार त अब मैले हेर्दा त त्यो बेलुन फुटिसकेको देख्छु’, उनले भने, ‘हरेक नियुक्ति र निर्णयमा स्वार्थसमूह नै हाबी छ। जनताले सेवाप्रवाह सहज रूपमा पाउन सकेका छैनन्।’
प्रचण्डले नीति तथा कार्यक्रममाथिको छलफल कर्मकाण्डी मात्रै हुने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आफू नेतृत्वको अघिल्लो सरकारले सांसदहरूले उठाएका विषयसमेत नीति तथा कार्यक्रम हुँदै बजेटमा समेत समेट्ने गरी अध्यादेशमार्फत नयाँ पल गरेको भए पनि फेरि पुरानै प्रचलनतिर अहिलेको सरकार फर्किएको भन्दै आलोचना गरे।
राष्ट्रपतिद्वारा १९ वैशाखमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सोमबारदेखि संसद्मा छलफल सुरु भएको छ । छलफलमा सहभागी हुँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले तीन महिना अघि नीति कार्यक्रम ल्याउने निर्णय खारेज गरेर परम्परागत नै बनाएकोमा असन्तुष्टि जनाएका हुन्।











