Logo
Logo

देउवाले लिए द्वन्द्वपीडितको प्रतिनिधित्वको जिम्मा


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा द्वन्द्वपीडितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार बिहान बूढानीलकण्ठस्थित निवासमा द्वन्द्वपीडित प्रतिनिधिहरूसँगको भेटमा देउवाले आयोगको सिफारिस प्रक्रियामा पीडितको सहभागिता नदेखिएकोप्रति चिन्ता व्यक्त गरेका हुन् । उनले पीडितको प्रतिनिधित्व गराउने जिम्मा आफूले लिने बताउँदै दुई जनाको नाम दिनु आग्रह गरेका हुन् । 

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी सिफारिसका लागि गठन गरिएको सिफारिस समितिले हालै ३४ जनाको संक्षिप्त नामावली सार्वजनिक गरेको थियो । तर, ती सूचीमा पीडित समुदायको प्रतिनिधित्व नभएको भन्दै विभिन्न पीडित संस्थाहरूले आपत्ति जनाउँदै आएका छन् ।

देउवासँगको भेटमा सहभागी द्वन्द्वपीडित नेतृ देवी खड्काले सिफारिस समितिले पीडितसँग परामर्श नगरी सूची बनाएको गल्ती स्वीकार गर्दै देउवाले पीडितको प्रतिनिधित्व गराउने स्पष्ट प्रतिबद्धता जनाएको जानकारी गराएकी हुन् । 

खड्कासँगै डा। राम भण्डारी, मैना कार्की, सुमन अधिकारी, गीता रसाइली, गोपालबहादुर शाह र फणिन्द्र लुइँटेल लगायतका प्रतिनिधिहरूले देउवालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

यसअघि, आइतबार द्वन्द्वपीडित प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ध्यानाकर्षण पत्र बुझाउँदै आयोगको सिफारिस प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन माग गरेका थिए ।

यसैबीच, आज दिउँसो ३ बजे द्वन्द्वपीडित प्रतिनिधिहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारमा भेट गर्ने कार्यक्रम रहेको छ ।

द्वन्द्वपीडितको स्पष्ट आवाज र उनीहरूको सहभागिता विना सङ्क्रमणकालीन न्यायको प्रक्रिया विश्वसनीय बन्न नसक्ने भन्दै सरोकारवाला पक्षहरूले निष्पक्ष, पारदर्शी र पीडितमैत्री प्रक्रिया अघि बढाउन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्