Logo
Logo

स्पट फिक्सिङमा प्रतिबन्धित मोहम्मद आदिल अन्सारीको प्रतिबन्ध फुकुवा


756
Shares

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले स्पट फिक्सिङ आरोपमा प्रतिबन्धित क्रिकेटर मोहम्मद आदिल अन्सारीमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । क्यानका प्रवक्ता छुम्बी लामाले सोमबार २८ महिनापछि आदिलको प्रतिबन्ध हटाइएको जानकारी दिएका हुन् ।

प्रतिबन्ध हटेसँगै अब आदिलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा सहभागी हुन पाउनेछन् । आदिलमाथि २०७९ पुस ९ देखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आयोजित नेपाल टी–२० लिगका क्रममा स्पट फिक्सिङको आरोप लागेको थियो । जनकपुर रोयल्सबाट खेलिरहेका आदिलले काठमाडौं नाइट्सविरुद्धको खेलमा शङ्कास्पद रूपमा नो–बल फालेपछि अनुसन्धानको दायरामा परेका थिए । त्यस खेलमा उनले दिएको एक ओभरमा १५ रन आएको थियो ।

घटनापछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आदिलसहित महबुब आलम, नितेश गुप्ता, नवीन कँडेल र रवि माझीविरुद्ध अनुसन्धान थालेको थियो । सीआईबीका अनुसार पूर्व राष्ट्रिय खेलाडी महबुब आलमले दुई खेलाडीलाई फिक्सिङ प्रस्ताव गरेका थिए । नेपाल टी–२० लिग सम्पन्न भएको केही सातामै आदिल र महबुबलाई क्रमशः राजविराज र विराटनगरबाट पक्राउ गरिएको थियो ।

यद्यपि, काठमाडौं जिल्ला अदालतले २०८० चैत १३ गते न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासबाट अभियोग दाबी नपुगेको ठहर गर्दै आदिलसहित पाँचै जनालाई सफाइ दिएको थियो ।

प्रतिबन्ध कायमै रहेकाले आदिल हालसम्म कुनै प्रतियोगितामा सहभागी हुन पाएनन् र भारतको विहारमा टेनिस क्रिकेट खेल्दै आएका थिए । अब भने आइतबारदेखि लागू हुने गरी उनको प्रतिबन्ध औपचारिक रूपमा हटाइएको क्यान प्रवक्ता लामाले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्