Logo
Logo

गृहमन्त्रीले प्रहरी सरुवाको मापदण्ड मिचे


20.9k
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापालाई एसएसपीसम्मको सरुवा गर्ने अधिकार कानुनले दिए पनि गृहमन्त्री रमेश लेखकले बिचौलियाको प्रभावमा परेर असईसम्मको सरुवामा हस्तक्षेप गर्न थालेका छन् । गृहमन्त्री भएको एक वर्ष पुुग्नलाग्दा उनले स–सानो प्रहरी कार्यालयको इन्चार्ज बनाउनेदेखि असईसम्मको सरुवामा आइजीपी थापालाई लगाम लगाउन थालेका छन् ।

गृहमन्त्री लेखकले कहिले वालुवटारस्थित प्रधानमन्त्री निवास देखाउने कहिले बूढानीलकण्डस्थित देउवा निवास र सचिवालय देखाएर प्रहरीको सरुवामा हस्तक्षेप गरेका हुुन् । गृहमन्त्रीको सचिवालयमा रहेका जनक भट्ट लगायतका नेविसंघका पूूर्व कार्यकर्ताहरुको भनाइमा लागेर मन्त्रीले आफैँ हस्तक्षेप गर्न थालेको गृह स्रोतले बताएको छ । प्रहरी निरीक्षकको सरुवा पनि उनी नै हाबी भएका थिए । डिएसपीको सरुवामा पनि गृहमन्त्री नै हावी भएका छन् ।

राजनीतिक हस्तक्षेपबाट प्रहरी संगठनलाई जोगाउने भन्दै हालै स्वीकृत भएको सरुवा सम्बन्धी नयाँ मापदण्डको पनि गृहमन्त्रालयबाट उल्लंघन गराइएको छ । विगतमा राष्ट्रपति रामचन्द्र पौडेलको नाममा पर्साको एसपी सरुवामा मापदण्डलाई उल्लंघन भएको थियो ।

अहिले प्रधानमन्त्रीको नाममा त्यही परिस्थिति दोहोरयाईको छ । प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गर्दा वालुुवाटार, बूूढानिलकण्ठ तथा शितल निवासको नाममा विधि मिचिएको हो । सरुवा गरेकामध्ये एसपी राजन लिम्बुको झापा सरुवा भएको छ । उनलाई मापदण्डविपरीत जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो ।

विगत तीन महिनादेखि चितवन प्रहरी प्रमुखका रुपमा कार्यरत एसपी लिम्बुलाई झापा प्रहरी प्रमुख बनाएर पठाइएपछि मापदण्डको औचित्य सकिएको हो । सामान्यतया प्रहरीमा यस्तो सरुवा हुँदैन । लिम्बु प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वपिएसओ भएकाले यो बिशेष अवसर पाएका हुन् ।

यसअघि मानववचविखन व्यूरोबाट चितवन पुुगेका एसपी गौतम मिश्रलाई तीन महिनामै पर्सा पठाइएको थियो । लिम्बूूको नाममा मात्रै मापदण्ड उल्लंघन गराइएको होइन, मिश्रको नाममा पनि मापदण्ड मिचिएको थियो ।

प्रधानमन्त्री ओलीकै दबाबमा नियम मिचेर उनलाई ‘क’ वर्गको चितवनबाट ‘क’ वर्गकै झापा पठाइएको हो । शक्तिकेन्द्रको दबाबसामु प्रहरी महानिरीक्षक दिपक थापाको समेत केही नचलेपछि लिम्बू झापा जान सफल भएको र यसअघि वसन्तबहादुर कुँवर आइजीपी हुँदा मिश्र पर्सा जान सफल भएका थिए ।

प्रबन्धमा बसेर रुपन्देही जान तम्सेका लिम्बुको ठाउँ चितवनमा एसपी गोविन्द पुरीको सरुवा भएको छ । पूरीले धेरै पटक रुपन्देहीका लागि प्रयास गरेका थिए । एसपी अंगुुर जीलाई कही पनि नदिएर यसपटक थप अन्याय गरिएको छ । संगठन प्रमुख थापाले बढुवामा वाहवाही कमाएका बेला सरुवमा भने साँ गुमाएका छन् ।

२०८० साउन ३२ गते ‘सिनियर प्रहरी अधिकृतको सरुवासम्बन्धी मापदण्ड २०७९’ मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको थियो । रमेश लेखक आफै गृहमन्त्री भएको बेला आफैले स्वीकृत गरेको मापदण्ड उल्लंघन गर्न थापालाई दबाब दिएका थिए । ‘गृहमन्त्रीकै दबाब आएपछि थापाले सरुवामा अडान लिन सकेनन’, प्रहरी प्रधानकार्यालय स्रोतले दृष्टिलाई भन्यो ।

त्यतिमात्र नभएर प्रहरीको सरुवासम्बन्धी कार्यविधिमा सामान्यतया बढुवाको ६ महिनासम्म इन्चार्ज नपठाउने र पठाउनै परे ‘ग’ वर्गका कार्यालयमा पठाउने उल्लेख छ । तर, कार्यविधिविपरीत केही एसपीहरुलाई ‘ख’ वर्गका कार्यालयमा पठाएको पाइएको छ । बढुवाको दुई महिनामै पवन भट्टराईलाई पाल्पा, दधिराम न्यौपानेलाई स्याङजा, शरद थापा क्षेत्री धनकुटा, लालध्वज सुवेदीलाई सिन्धुली, तिलक भारतीलाई बाग्लुङ तथा दानबहादुर थापालाई गण्डकी ट्राफिक इन्चार्ज बनाएर पठाइएको हो । थापा, न्यौपाने, भारती यसअघि पनि इन्चार्ज रहेका थिए ।

यसैगरी, डिएसपीको सरुवामा यही हालत रहेको छ । १२१ जान डिएसपीको सरुवामा मापदण्ड उल्लंघन गरिएको छ । सरुवा भएका केही डिएसपीले लगातार तीन पटकसम्म कार्यालय प्रमुख भएका व्यक्तिलाई पुनः प्रमुख बनाएर सरुवा गरिएको छ ।सरुवा भएका मध्ये १४ जनालाई पहाडी जिल्लाको प्रमुख बनाएर सरुवा गरिएको छ । कतिपय जिल्लामा कार्यालय प्रमुखका रुपमा खटाइएका डीएसपी यसअघि सोही दर्जामा पटक पटक कार्यालय प्रमुखको जिम्मेवारी सम्हालीसकेका व्यक्ति रहेका छन् ।

यसअघि नै कार्यालय प्रमुख भइसकेका डिएसपी मनजित कुँवर पहाडी जिल्लाको क मानिएको सोलुुखुम्बू पुुगेका छन् । भोला कुमार थापा पनि यस्ता भाग्यमानी डिएसपी हुन क श्रेणीको इलाका प्रहरी कार्यालय लाहानको प्रमुखका रुपमा रहेका थिए, उनको रामेछापमा प्रहरी प्रमुखको रुपमा सरुवा भएको छ । त्यस्तै विवादास्पद छविका डिएसपी सूर्यबहादुर थापाले म्याग्दी जिल्ला प्रहरी कार्यालयको प्रमुखका रुपमा सरुवा हुन सफल भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख भरत लामालाई सरुवा गरेर वीरेन्द्रबीर विश्वकर्मालाई प्रमुखको जिम्मेवारी दिइएको छ । लामा नेपाल पश्चिम नवलपरासीस्थित प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाहामा खटाइएका छन् । ओखलढुंगा प्रहरी प्रमुख कृष्ण खड्का सरुवा हुँदा मदन केसीले जिम्मेवारी पाएका छन् ।

जुम्लाका प्रमुख छेदीलाल कामतीलाई सरुवा हुँदा रवीनबाबु रेग्मीलाई त्यहाँको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिपकुमार गिरीको सरुवा भएर इकबाल हवारीले कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख नरेशकुमार सिंहलाई सरुवा गरेर हरिप्रसाद पौडेललाई प्रमुखको जिम्मेवारी दिदाँ जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेलाई सरुवा गरेर बसन्तकुमार शर्मालाई प्रमुखको जिम्मेवारी दिइएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमका प्रमुख माधवराज खरेलको सरुवा गरेर उमाशंकरप्रसाद यादवलाई प्रमुखको जिम्मेवारी दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख रवि रावललाई सरुवा गरेर वेदप्रसाद गौतमलाई प्रमुखको जिम्मेवारी दिइएको छ भने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालको सरुवा गरेर गणेशबहादुर बराललाई प्रमुखको जिम्मेवारी दिइएको छ । यो मापदण्ड प्रहरी निरीक्षकमा पनि उल्लंघन भएको छ ।

प्रतिक्रिया दिनुहोस्