काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले आफ्नो पार्टी सरकार बनाउने दौडधुपमा नरहेको प्रष्ट पारेका छन् । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीको प्राथमिकता आम जनतासँग प्रत्यक्ष सम्पर्कमा केन्द्रित रहेको बताएका हुन् ।

‘अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन,’ प्रचण्डले भने, ‘हाम्रो ध्यान जनतामै जाने छ ।’ प्रचण्डले छिट्टै सुरु हुन लागेको मध्यपहाडी लोकमार्ग अभियानबारे पनि जानकारी दिए । उनका अनुसार, पार्टी देशभर जनसम्पर्क र जनसंवादमा जाने तयारीमा जुटिरहेको छ।
‘हामी मध्यपहाडी लोकमार्ग अभियान जाँदैछौं,’ उनले भने, ‘जादु चलाउन चाहे त चल्छ तर अहिले हामी चलाउने पक्षमा छैनौँ ।’
अध्यक्ष दाहालले वर्तमान सत्ता गठबन्धन र नेपाली कांग्रेसप्रति कटाक्ष गर्दै भने, ‘हामी देउवाजी कसैलाई पनि फकाउने पक्षमा छैनौँ । आफ्नै बोझले यो सरकार ढल्छ । जनताको मनबाट त यो ढलिसकेको छ ।’
सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि पनि प्रचण्डले टिप्पणी गरे । उनका अनुसार, नीति तथा कार्यक्रम जनभावना अनुसारको नभई, केवल औपचारिकता पूरा गर्न ल्याइएको छ ।
‘गतवर्षको नीति तथा कार्यक्रम कपिपेस्ट गर्नुपनि झारा टार्नु नै हो,’प्रचण्डले भने, ‘किनभने यो एकवर्षको अवधिमा धेरै नै विकास भइसकेको छ । तर नयाँ सिर्जनात्मक, रचनात्मक र जनता र राष्ट्र पक्षमा केही पनि कुरा छैन ।’














